काठमाडौं–बलिउड चलचित्रका सुपरस्टार गोविन्दा नेपाल आएका छन्। उनी पत्नी सुनितासँगै साथमा, नेपाली चलचित्रकी सफल नायिका निरुता सिंह पनि नेपाल आएकी छिन्। विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको ‘स्वर्णिम चलचित्र महोत्सव’मा सहभागी हुनका लागि गोविन्दा र निरुता नेपाल आएका हुन्। अहिले महोत्सवको तयारी तिव्र चलिरहेको छ।
गोविन्दाले त्रिुभवन विमानस्थलमा मिडियाकर्मीसँग कुराकानी गर्दै आफू पूजा गर्न बारम्बार नेपाल आउने गरेको भन्दै चलचित्र क्षेत्रबाटै निमन्त्रणा पाएर दोश्रो पटक नेपाल आएको सुनाए। उनले भने,‘जुन खालको माया र प्रेम तपाइहरुले मलाई दिनुभएको छ, यसका लागि म निकै नै आभारी छु।’
गोविन्दाले आफ्नो चलचित्र हेर्दै आएका दर्शकलाई पनि धेरै माया रहेको बताए। स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको भन्दै उनले दर्शकको माग अनुसार नै प्रस्तुति दिने बताए।
गोविन्दाले केही नेपाली चलचित्र हेरेपनि पूर्ण चलचित्र आफूले नहेरेको बताए। गोविन्दाले नेपालको गुन्द्रुकको झोल र भात खान मन लागेको सुनाए। नायक गोविन्दाले महोत्वमा नेपाली चलचित्रकर्मीसँग भेट्न पाउँदा खुशी लागेको भन्दै यसले अझै दुई चलचित्र नगरीको सम्बन्ध मजबुत बनाउने बताए।
यस्तै, नायिका निरुता सिंहले दर्शकहरुले आफूलाई धेरै माया दिएको बताइन्। गोविन्दासँग भेट हुँदा खुशी लागेको भन्दै उनले प्रशंसा गरिन्। नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको यो महोत्सव कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदैछ। निरुता र गोविन्दालाई एकसाथ देख्नेहरुले निरुतालाई वाउ भनेका छन्।