काठमाडौं– पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । चलचित्र हेर्न सिभिल मल काठमाण्डौ पुगेका बाबुरामले यस्ता चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन्।
चलचित्र हेरिसकेपछि उनले भने–‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ। तर, यस्तो होइन रहेछ। यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ।’ बावुरामले चलचित्रले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन्। नेपाली चलचित्र बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता चलचित्रलाई प्रमोट गर्नुपर्ने उनको तर्क छ।
यसअघि केही नेताहरुले समेत चलचित्र हेरेर यसको कथावस्तुलाई मन पराएका थिए। दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिले अस्तव्यस्त बनाएको समाजमा जनता जागेको खण्डमा के हुन्छ भनेर देखाउन खोजेको छ।
अहिलेसम्म चलचित्रले १० करोडको आँकडा पार गरेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन्। अझैं पनि हलहरुमा दर्शको घुईंचो छ।