एजेन्सी–प्रदेशसभा सांसद दिपक मनाङ्गेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ। किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको छ। निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता भएको छ, भने जमन आफैले अहिले कथामा काम गरिरहेका छन्।
चलचित्र ‘मनाङ्गे’ ले दिपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ। निर्माता नेपालीले भने–‘दीपक दाइको कथामा चलचित्र बनाउन मेरो कम्पनीले अधिकार लिएको छ। जमनजीले कथा लेखिरहनुभएको छ।’ जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र बिषयमै स्नातकोत्तर गरेका छन्।
दिपक मनाङ्गेको जीवनमा थुप्रै उतारचढाव छन्। डनदेखि सांसदसम्म भएका दिपकको बायोपिक दर्शकका लागि रोचक हुने निर्माणपक्षको विश्वास छ।
यो चलचित्रका लागि केही चल्तीका कलाकारसँग पनि कुरा चर्चामा छ। २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने निर्माता नेपालीले जानकारी दिए। किरणले निर्माण गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ।