काठमाडौं– केही दिन अगाडि मात्र निर्देशक सिमोस सुनुवारले ‘छक्का पन्जा’ टिमसँग सहकार्य गरेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने समाचार बाहिरिएको थियो। जुन समाचारले निकै चर्चा पायो।
चलचित्रको स्क्रिप्ट पनि दीपकराज गिरीसम्म पुगिसकेको थियो। तर, नाम र स्क्रिप्टमा दिपक–दिपाको मन बलियो तरिकाले नबसेको वुझिएको छ। दिपकराज गिरी र उनको टिमसँग सिमोसले काम गर्ने चर्चा चलिरहँदा अब भने सिमोस नयाँ चलचित्र निर्देशनमा लागेका छन्।
रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेगरि चलचित्र ‘दिमाग खराब’ बन्ने भएको छ, जसलाई सिमोसले निर्देशन गर्ने भएका छन्। कलाकार बस्नेतले भने–‘हो, हामीले ‘दिमाग खराब’ मा काम गर्ने पक्का भएको छ। पुसबाट चलचित्रको छायांकन सुरु हुनेछ।’ केही दिन अगाडि मात्र निश्चल र स्वस्तिमाले एकसाथ चलचित्रमा काम गर्न लागेको बताएका थिए।
यो चलचित्र निश्चलको ‘ब्ल्याक हर्स पिक्चर्स’ र सिमोसको ‘आलु प्रोडक्सन’को संयुक्त व्यानर निर्माण हुनेछ। यो चलचित्रलाई अहिले प्रतिक गुरुङ, निश्चल बस्नेत र सफल केसीले मिलेर लेखिरहेका छन्। यो चलचित्रलाई ‘सक्कीगोनी’ टिमले निश्चलको निर्देशनमा बनाउने चर्चा समेत चलेको थियो।
तर, पछि निश्चलले कथा मन नपरेको भन्दै छाडेका थिए। चलचित्र विकास बोर्डमा दर्ता गरेको ३ बर्षसम्म पनि चलचित्र बनेन भने त्यो नाम अर्को ब्यानरले दर्ता गर्न पाउँछ। यसैले अहिले निश्चल र सिमोस मिलेर यो नाममा चलचित्र बनाउन लागेका हुन्। ‘सक्कीगोनी’ टिमले ‘फनफनी’ बनाउने चर्चा चलेको पनि लामै समय भैसकेको छ ।