काठमाडौं – छक्का पञ्जा टिमले यसअघि निर्माण गरेको ‘छक्का पन्जा’का ३ सिरिजमा कथा कम, चुट्किला धेरै भएको आरोप खेप्दै आएको आमा सरस्वती मुभिजले यसपटक भने यो आरोप खेप्नु परेन।
शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शक मात्र होईन समिक्षकहरु समेतले राम्रो भनेका छन्। यसैले, यसपटक दिपकराज गिरी र उनको टिम समसामयिक कथावस्तुमा पनि बलियो देखिएको छ। निर्देशक दिपेन्द्र लामासँगको टिमअप पनि यसको कारण हुनसक्छ।
शुक्रबारदेखि रिलिजमा आएको यो चलचित्रले २ दिनमा बम्पर कमाई गरेको छ। निर्माता रोहित अधिकारीका अनुसार, चलचित्रले केही रेकर्डहरु समेत ब्रेक गरेको छ। चलचित्रले दुई दिनमा ३ करोड माथिको व्यापार गरेको निर्माता अधिकारीको भनाई छ। काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामकनै रहेकाे छ।
देशभर संचालनमा आएका नयाँ मल्टिप्लेक्समा समेत चलचित्रको व्यापार आक्रामक देखिएको छ। चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले पानीको समस्यालाई राजनीतिसँग जोडेको छ।
नेपाली जनताले लामो समयदेखि भोग्दै आएको कथालाई उठान गरेका कारणले पनि यसपटक चलचित्र हेरेर दर्शक सन्तुष्ट देखिएका छन् । यसैले, चलचित्रले लामो समयसम्म कमाई गर्ने अपेक्षा गर्न सकिन्छ।