काठमाडौँ – हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले ‘सेन्टी भाइरस’ कथानक चलचित्र निर्माणको घोषणा गरेका छन्। बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले उक्त चलचित्र बनाउने घोषणा गरेका हुन्।
कमेडी जानराको चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्। फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन्। चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तली रहेका छन्। ‘सेन्टी भाइरस’मा धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणि नेपाल, शुर्यमाला खनाल, वसन्त भट्ट, दीपक आचार्य लगातको अभिनय रहनेछ। भदौ ३ गतेबाट चलचित्र छायांकन शुुरु हुनेछ। रिलिज डेट भने तय भइसकेको छैन।
चलचित्र व्यावसायिक प्रयोजनका लागिभन्दा पनि सामाजिक अभियानकै क्रममा चलिचत्र बनाउन लागेको सितारामले बताए। उनले चलचित्रको नाफाको २० प्रतिशत सामाजिक अभियानमै खर्च गर्ने जानकारी दिए। १५ प्रतिशत चितवनमा निर्माणाधीन क्रिटेट स्टेडियम र ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा खर्चिने उनको भनाइ छ।