काठमाडौँ – थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन्। यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ।
नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ। त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप–२०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनशिपमा नेपालबाट बडी बिल्डिङमा तीन, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा चार र पुरुष एथ्लेटिक्स फिजिकमा दुई गरी नौ खेलाडी सहभागी हुने सङ्घले जनाएको छ। त्यस्तै नेपालमा आयोजना भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा पदक विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत तर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गरेको छ।
आगामी मङ्गलबार सो प्रतियोगितामा स्वर्ण पदक विजेतालाई ५० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेतालाई २० हजार प्रदान गरिने छ। च्याम्पियनशिपमा नेपालले तीन स्वर्ण, सात रजत र छ कास्य पदक जितेको थियो। प्रतियोगितामा टोली च्याम्पियन अफगानिस्तान भएको थियो भने नेपाल दोस्रो बनेको थियो। (रासस)