सोमनाथ लामिछाने, काठमाडौँ - अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रूपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ।
अति सङ्क्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौँको ज्यान लिएको थियो। पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रूपमा फैलिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इबोलाको पछिल्लो सङ्क्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै “विश्व स्वास्थ्य आपतकाल” घोषणा गरेको छ। इबोला सङ्क्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्ल्यूएचओको भनाइ छ। यो भाइरस खासगरी शहरी इलाकाहरूमा ज्यादै सङ्क्रामक हुन्छ र यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ।
यो भाइरस जङ्गली जनावरबाट मानिसमा सर्दछ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तीव्र गतिमा सर्दछ। सङ्क्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरू अङ्गबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ। इबोला खासगरी चमेरोमा पाइन्छ तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरूमा यो जीवाणु सार्दछ।
चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट सङ्क्रमित भएका हुन सक्छन्। यी जनावरको सिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट सङ्क्रमित हुन सक्छन्। इबोला सङ्क्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्दछ। यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ।
साथै, झाडाबान्ता हुने, छालामा घाउहरू देखिने, मिर्गौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्ल्यूएचओले जनाएको छ। उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भए पनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ।
उपचार र खोज
हाल इबोलाको रोकथाम वा उपचारका लागि कुनै आधिकारिक औषधि पत्ता लागेको छैन तर अनुसन्धान प्रयोजनका लागि केही औषधि चलनचल्तीमा ल्याइएको छ। गत अगस्टदेखि यता दशौँपटक इबोला देखिएसँगै स्वास्थ्य निकायहरूले पहिलोपटक ठूलो मात्रामा आरभीएसभी–जेबोभ नामको खोप प्रचलनमा ल्याएका छन्। मर्क प्रयोगशालाले विकास गरेको यो खोपले लाइसेन्स पाएको छैन तर यो निकै सुरक्षित र प्रभावकारी देखिएको छ। डब्ल्यूएचओले यस खोपको उत्पादन बढाउन र प्रयोगमा ल्याउन आग्रह गरेको छ।
डब्ल्यूएचओका विज्ञहरूले जोन्सन एन्ड जोन्सनले विकास गरेको एमभीए–बीएन खोप पनि प्रयोगमा ल्याउन सुझाएका छन्। पछिल्ला दिनहरूमा भाइरस फैलन नपाओस् भन्नका लागि बिरामी र अरू मानिसलाई अलगअलग ठाउँमा राख्न व्यापक अभियान र सचेतना फैल्याइएको छ। उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित राख्न उनीहरूका पूरै शरीर ढाक्ने गरी प्लास्टिकको कपडा, मास्क, चश्मा, ग्लोभ र अरू स्प्रेको प्रबन्ध पनि गरिएको छ।
विश्वकै सबैभन्दा खतरनाक इबोला सङ्क्रमण सन् २०१३ को डिसेम्बरमा दक्षिणी गिनीमा फैलिएको थियो। त्यसपछि यो भाइरस छिमेकी मुलुकहरू लाइबेरिया र सियरालियोनमा फैलियो। डब्ल्यूएचओका अनुसार यस भाइरसबाट ११ हजार ३ सयभन्दा बढीको ज्यान गएको थियो भने झन्डै २९ हजारमा इबोला देखिएको थियो।
वास्तविक संख्या योभन्दा बढी हुने डब्ल्यूएचओको अनुमान छ।
पीडितमध्ये ९९ प्रतिशतभन्दा बढी लाइबेरिया, गिनी र सियरालियोनमा फेला परेका थिए। यद्यपि, इबोला विश्वका अरू मुलुकमा पनि देखिएपछि विश्वव्यापी चासोको विषय बनेको थियो। हिंसा र द्वन्द्वको चपेटामा परेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरी किभु प्रान्तमा पछिल्लोपटक यो भाइरस सन् २०१८ को अगस्टमै देखिएको थियो। यो ठाउँ युगान्डाको सीमामा पर्दछ र त्यहीँबाट छिमेकी प्रान्त इटुरीमा पनि फैलिएको थियो।
जुन २०१९ मा युगान्डामा २ जनामा इबोला भेटिएको थियो। कङ्गोको गोमा शहरमा एक व्यक्तिमा यो रोग देखिएको थियो। हालसम्म पछिल्लो सङ्क्रमणबाट १ हजार ६ सय ९८ भन्दा बढीको ज्यान गइसकेको कङ्गोको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डब्ल्यूएचओले सो रोग थप फैलन नदिन र बिरामीको उपचारमा सहयोग गर्न अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोगका लागि आह्वान गरिसकेको छ।
डब्ल्यूएचओका अपरेशन प्रमुख माइक रायनले इबोलासँग जुध्न कम्तीमा २३ करोड अमेरिकी डलर आवश्यक रहेकाले उक्त रकम सहयोग गर्न आह्वान गरेका छन्। (यो सामग्री एपी/एएफपी समेतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको हो)