- श्रीविलास दाहाल
मानिसको, शासकको ‘विनाश हुने बेला भएमा त्यसको बुद्धि विपरीत दिशातिर कुदिरहन्छ’ भन्ने छ। यो संस्कृतको श्लोक पुराण, महाभारत, नीतिशास्त्र कताको हो? कसले, कतिखेर, कसलाई भनेको हो? थाहा भएन। तर, हाम्रो दक्षिणको छिमेकी भारतकी प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले सन् १९७४ मा भारतमा आपत्कालीन स्थिति घोषणा गरी जयप्रकाश नारायणलाई गिरफ्तार गरेर लैजाँदा जयप्रकाशले पत्रकारहरूलाई यही आधा श्लोकको प्रतिक्रिया दिएका थिए। त्यसपछि प्रधानमन्त्री इन्दिरा गान्धीको पतन र विनाश प्रारम्भ भएको थियो।
जयप्रकाश नारायण र डा. राममनोहर लोहिया भारतमा महात्मा गान्धीले अंगेजका विरुद्ध ‘भारत छोडो’ आन्दोलन सञ्चालन गर्दा सन् १९४२ का एकछत्र नेता थिए। गान्धी र नेहरु आदि भारतीय कांग्रेसका नेताहरू सबै जेलमा हुँदा उनीहरू गिरफ्तार हुनबाट बचेका थिए र भूमिगत रूपमा नेपाल आएका थिए। सप्तरीमा नेपालका तत्कालीन शासक राणाहरूले जयप्रकाश र लोहियालाई गिरफ्तार गरेर सप्तरीको जेलमा थुनेका थिए। सप्तरीका नेपाली कांग्रेसका नेताहरूले उहाँहरूलाई जेल तोडेर भगाएका हुन्। नेहरुकी छोरी भनेर जयप्रकाशजी इन्दिरालाई बेटी भन्थे।
नेपालमा राजा वीरेन्द्रको वंशनाशपछि राजा भएका भाइ ज्ञानेन्द्रको पनि विपरीत बुद्धि भएर विनाश भएको हो। सत्ताको विनाश। प्रतिगमन आधा सच्चियो भनेर सत्तामा रमाउने वर्तमान प्रधानमन्त्री ओली पनि हुन्। नेपालको मूल आन्दोलनबाट विपरीत बुद्धि राख्ने उनको पनि विनाशकाल प्रारम्भ भएजस्तो छ।
लोकतन्त्रको व्याख्या गरेर नथाक्ने ओली, कसरी यस्तो पत्याउनै नसक्ने काम गर्न सक्छन्? संसद्, क्याबिनेट र राष्ट्रपतिसम्मले विश्वास गर्न नसक्ने कानून कसरी बनाउन सक्छन्? उनी बालिग मताधिकारका आधारमा निर्वाचित भएर आएका हुन्, नक्सलाइट आन्दोलनबाट सीधै सत्तामा त आएका होइनन्।
प्रेस काउन्सिलको यो पत्रकारको कलम फसाउने र पंगु पार्ने यो ‘ड्राफ्ट’ ज्ञानेन्द्रका पालामा क्याबिनेटका उपाध्यक्ष हुँदा डा. तुलसी गिरीले गरेको हो भनेर मार्केटमा कुरा आएका छन्। गिरी त मरिसके, गिरीको भूत भने ओलीमा सरेजस्तो छ। ओलीभन्दा पनि उनका सञ्चारमन्त्रीमा बढी देखिन्छ। डा. गिरी, उनका भतिजा प्रदीप गिरीजस्ता पत्रकारमैत्री भने अवश्य पनि थिएनन्। प्रधानमन्त्री ओलीजस्तै रुखो स्वभावका हुन्।
कहिलेकाहीँ पुराना कुरा सुनाउने क्रममा सानेपाको सानो घरमा राजा महेन्द्रका बारे डा. तुलसी गिरीले एउटा घटना सुनाएका थिए। राजा महेन्द्रले मलाई सहयोग गर भनेर उनलाई प्रधानमन्त्री बनाएछन्। प्रधानमन्त्री भएको केही दिनपछि राजा महेन्द्रले सारा सचिव बोलाएर प्रधानमन्त्रीले जे भने पनि मलाई नसोधी केही नगर्नू भनेर दरबारबाट फर्मान गरेछन्। राजनीतिक मोहराका चतुर खेलाडी विश्वेश्वरप्रसाद कोइरालाका चेला गिरीले दरबारको यो षडयन्त्र थाहा नपाउने कुरै भएन। सीधै महेन्द्रलाई गएर भनेछन्, सरकारलाई मसँग विश्वास छैन भने यो प्रधानमन्त्री पद मलाई चाहिएन। यसरी प्रशासन चल्दैन। महेन्द्र अवाक !
ठ्याकै प्रधानमन्त्री ओलीको पारा पनि त्यस्तै छ। सारा उपप्रधानमन्त्री, मन्त्री बनाउने विचराहरू आफ्नो मन्त्रालयमा आफ्नो अनुकूलको सचिव राख्न सक्दैनन्। प्रधानमन्त्रीलाई सीधै सचिवले मन्त्रालयका कुरा ब्रिफिङ गरेपछि त्यो सचिवले मन्त्रीलाई कसरी टेर्छ? अझ पार्टीको सदस्य र लेबी तिर्ने रहेछ भने त हिन्दी उखानको ‘नीममे करेला’ भइहाल्छ।
लोकतन्त्रमा विधिको शासन हुने हो, विधिअनुसार त मन्त्रालयको यश–अपयश, जिम्मेवारी त मन्त्रीको हो नि? मन्त्रीको मूल्याङ्कन गर्न नै क्याबिनेट बस्ने हो। यसै पनि विधिको शासन, ऐननियम, विनियम, तजबिज, विशेष अधिकार आदि इत्यादिले गाँजेर जनता त्यसलाई छिचोल्नै सक्दैन। अनि के हुन्छ?
प्रधानमन्त्रीको दिमागमा फासीवाद, व्यवहारमा अविश्वास, कार्यशैलीमा तानाशाही भएपछि लोकतन्त्रले कसरी गति लिन्छ? संविधानको शपथ खाएर आएको प्रधानमन्त्रीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को व्याख्या कहिले गर्दैन। आफू आवरणमा लुक्न र जनताका सामु देखिन विभिन्न समारोह गरेर लोकतन्त्र बलियो हुने होइन। टुँडिखेलमा जति ल्होसार र अन्य पर्वमा जनता भेला हुन्छन्, त्यति पनि हुँदैनन्।
पलायनवादी नीति भनेको ‘मूतको न्यानो’मात्र हो, एकछिनको तातोपछि चिसो हुने। पलायनवादी नीतिले समस्या पन्छाउने र चाङ लाग्ने मात्र हो। अहिलेको यो प्रविधि र सञ्चार व्यापक भएको युगमा चालीस वर्षअघिको कम्युनिष्ट नीति कसरी लागू हुन सक्छ? भ्रमको खेती गरेर अघि बढ्न सक्ने स्थिति नै छैन। आफ्नै जिल्लाको अराजनीतिक अर्थमन्त्री ल्याएर भ्रमको खेती गर्न लाउँदा पनि पार त लागेन। ओली सरकारलाई कांग्रेसको सरकारले त भरिएको ढुकुटी छोडेर गएको थियो। तैपनि श्वेतपत्र निकाल्न लाएर, टाट पल्टेको देखाएर त्यही पैसालाई खर्च गरेर कमाइ गरेको भन्ने भ्रमको खेतीको फसल पनि पाकेन।
दोस्रो वर्षको कार्यकालमा, लोकतान्त्रिक व्यवस्थाको खुला अर्थतन्त्रमा निजी क्षेत्रमा कस्तो अर्थतन्त्र कायम छ भन्ने मापदण्ड भनेको शेयर मार्केट हो, शेयर मार्केट धराशयी भएको छ। अर्थमन्त्री स्वयंले यो जुवा हो भनिदिए। असली जुवा खेल्ने क्यासिनोप्रति यो सरकार चाँचूँ गर्दैन। यस्तो पनि कहीँ हुन्छ?
बैंकहरूले तोकेको मापदण्ड पूरा नगरे मर्जर गर्ने भन्ने कुरा आयो। त्यो त्यसै सेलायो। तीनखुट्टे अर्थनीति भनेर खुब प्रचार गरियो। सरकार, सहकारी र निजी क्षेत्र भनियो। सहकारीमा कति आर्थिक भ्रष्टाचार हुँदो रहेछ भन्ने कुरा अलिअलि खुल्दै छ। व्यापार घाटा रोक्ने दिशामा केही प्रयास देखिँदैन। प्रति दिनरात व्यापार घाटा बढेको बढ्यै छ। महँगीको त कुरा गरिसाध्य छैन।
नेपाली समाजमा प्रतीकात्मक उखानटुक्का छन्, प्रधानमन्त्री ओलीलाई धेरै उखानटुक्का आउँछन् पनि। तर, प्रधानमन्त्रीको पदमा बसेर, उखानटुक्का भनेर समय खेर फाल्ने कम गर्दाको परिणाम आज देखिँदैछ। छट्टु चोरले स्याल आयो भनेर जनतालाई झुक्याएर कुखुरा चोरेको कथाजस्तो पारा छ। जब चारैतिर समस्याले घेर्नथाल्छ अनि आउँछन्, रेल र पानीजहाजका कुरा, अनि सुटुक्क विदेश भ्रमण गरी फर्केर नेपाल उत्रिन पाएको छैन, अर्को समस्या विकराल भएर जन्मिसकेको हुन्छ। यो क्रम रोकिने वाला छैन।
प्रतिपक्षका नेता तथा भूपू प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसके, विसं. २०४८ सालदेखि प्रधानमन्त्री ओली संसदमा छन्। उनलाई संसदका विधि र विधान थाहा नहुने कुरै छैन। घरिघरि संसदलाई छल्ने काम किन गर्छन्? सत्तारूढ दलको प्रधानमन्त्री संसदीय दलको नेता हो। त्यसो भएकाले प्रधानमन्त्री संसदको नेता पनि हो। यसरी स्वयं नेता संसदबाट भाग्न थालेपछि संसदीय व्यवस्था कसरी अघि बढ्छ? त्यो पनि केन्द्रीय संसद्, प्रदेशका संसदलाई उदाहरण र प्रेरणा दिने ठाउँ।
प्रधानमन्त्री ओली नीतिगत र संवैधानिक कुरा गर्दा पनि सारै तल्लो तहको बचकना हर्कत गर्नुहुन्छ। प्रदेश सरकारको उनको परिभाषा पञ्चायतकालको अञ्चल कार्यालयको जस्तो पो छ। प्रदेश सरकार जनताले निर्वाचित गरेर पठाएका, संवैधानिक स्वायत्त संस्था हुन्। अहिले जम्माजम्मी एउटा प्रदेशमा मात्र अर्कै पार्टीको सरकार छ। भविष्यमा अझै जटिल विषय आउन सक्छ।
हिंसालाई विश्वास गर्ने, कम्युनिष्ट तानाशाही स्कुलिङबाट आएका प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक प्रक्रिया अप्ठेरो लाग्नु स्वभाविकै होला। तर, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको शक्तिलाई तानाशाही र फासीवादमा परिणत गर्दा के हुँदो रहेछ भन्ने त जर्मनीका हिटलर नै उदाहरण छन्। केपीजस्तो मान्छे र उनले विश्वास गरेको टिमलाई यति पनि थाहा छैन भने विनाशकाले विपरीत बुद्धि...भनेझैँ उनको विनाशलाई कसैले रोक्न सक्दैन।