काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२औँ एकता महाधिवेशनमा उनले सरकारको नीतिगत कमजोरीका कारण गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रभावकारी नभएको बताएका हुन् ।
सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन नबनाई प्रमाणपत्र वितरण गरेको उनले आरोप लगाए । गैरआवासीय नेपाली नागरिकता लिएपछि पुरानो नागरिकता नभएको र नयाँले पनि काम नगर्ने स्थिति रहेको उनको भनाइ छ । अध्यक्ष केसीले अब बन्ने सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिए ।
जुनसुकै देशमा बसोबास गर्ने भए पनि नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता दिनुपर्ने उनले बताए । नेपाली भाषी सम्पूर्णलाई गैरआवासीय नेपाली नागरिकता दिएर उनीहरूको लगानी पहिला नेपाल भित्र्याउनुपर्नेमा उनले जोड दिए ।