काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद् बालकृष्ण खाँडले इटहरी महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले महिलामाथि अपशब्द बोलेको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य सयमा बोल्लै सांसद् खाँडले सरकारको ध्यानाकषर्ण गराएका हुन्।
उनले भने, ‘इटहरी महानगरपालिकाका मेयरजीले बोलेका कुराहरू चर्चामा आएको छ। सम्माननीय सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । कुनै पनि जनप्रतिनिधिले, कुनै पनि नागरिकले कसैलाई पनि अपहेलित गर्ने अधिकार छैन। संविधानले अपहेलित गर्ने अधिकार कसैलाई दिएकै छैन। अधिकार मिचेर, संविधान मिचेर कसैलाई पनि अपमान गर्न पाइँदैन।’
जनप्रतिनिधिको आमा नागरिक भएको बताउँदै खाँडले नारीहरूमाथि अपमान गर्ने कुराको नेपाली काँग्रेसले घोर विरोध गरेको बताए। उनले कुनै पनि जनप्रतिनिधि, नेपालीहरूले नारीहरूमाथि अभद्र व्यवहार गर्ने छुट नभएको बताए।
यस्ता विषयहरूमा सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव छ।अपशब्द बोल्नेहरू सच्चिनुपर्ने बताउँदै खाँडले कुनै पनि नारीहरूमो शिष्टता, सम्मानमाथि आक्रमण हुन थाल्यो भने यसको भारीमूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए ।
मेयर चौधरीले एक सार्वजनिक कार्यक्रममा महिलाहरूमाथि सुन्नै नसकिने अपशब्द बोलेका थिए ।