भरतपुर, २ माघ – कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काे अनुसन्धान गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर, चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्था अन्त्यका लागि अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताए। “नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो,” उनले भने, “वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?”
उनले राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्न बताए। मन्त्री खनाल नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषिक्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने बताउँछन्। आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सकेमात्र लाखौँ विदेशिने नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ थियो।
नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरका प्रमुख रेनु दाहाल लगायतले कृषिमा वैज्ञानिकीकरण भनिए पनि परिणाम आउन नसकेको बताए। नार्कका कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले पछिल्लो समय नेपालमा प्रयोग भइरहेको प्रविधिबारे जानकारी गराएका थिए। (रासस)