काठमाडौँ – पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिप ललितपुरको सातदोबाटोमा सम्पन्न भएको छ। नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले आयोजना गरेको प्रतियोगिता असार ५ देखि ७ गतेसम्म सञ्चालन भएको थियो।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना भएको प्रतियोगितामा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ग्योरीगीतर्फ ९ पुरुष र ७ महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका ३ महिला र ३ पुरुषगरी कुल १ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा दोस्रो क्लास रेफ्री उतीर्ण भएका नविन कुमार श्रेष्ठ, ओलम्पियन संगीना वैद्य, ओलम्पियन दिपक विष्ट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख बनेका प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयुषा शाक्य, कोशिष खड्का, अशोककुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मान गरिएको थियो।
प्रतियाेगितामा विभिन्न विधाका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र नगदसहित सम्मान गरिएकाे थियाे। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले विजेताहरुलाई सम्मान प्रदान गरेका थिए। कार्यक्रममा आईजीपी खनालले तेक्वान्दो खेलाडीको क्षमता विश्व बजारमा बिक्ने भएकाले यसैको माध्यमबाट नेपालको नाम विश्वमा फैलाउनुपर्ने बताए।