काठमाडाैँ, १ माघ – आफ्ना नेताहरू गिरिजाप्रसाद काेइराला र सुशील काेइरालाकाे नाममा स्थापना गर्न लागिएकाे अस्पताल खारेजी गर्न सरकारले प्रक्रिया शुरू गरेपछि कांग्रेसले आपत्ति जनाएकाे छ।
यसै विषयमा सरकारको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन्। कांग्रेस नेताहरूले ओलीलाई भेटेर पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापतिहरूको नाममा स्थापना गर्न लागिएकाे अस्पताल बन्द नगर्न ज्ञापनपत्र बुझाउन लागेका हुन्।
तनहुँको दुलेगौँडास्थित बेलचौतारामा गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना हुन लागेकाे अस्पताल खारेजी गर्न सरकारले प्रक्रिया शुरू गरेकाे छ।
पार्टीका दुई नेताको नाममा स्थापित अस्पताल विघटन गर्न खोजेकाले प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्न लागिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निजी सचिवालयले जनाएको छ। वरिष्ठ नेता पौडेलले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई सोमबार नै भेट्न खोजेको, तर समय नपाएको बताएका थिए। नेता पौडेलले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।