तारानाथ आचार्य, बलेवा – चालू आर्थिक वर्षमा कृषिजन्य उत्पादन विक्री गरेर बाग्लुङ काठेखोला गाउँपालिका–६ बिहुँमा झन्डै ४ करोड रुपैयाँ भित्रिएका छन्।
किसानले उत्पादन गरेका दूध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रा लगायतका कृषिजन्य सामग्री विक्री गरेबापत बिहुँमा रु. ३ करोड ८० लाखभन्दा बढी रकम भित्रिएको हो।
तीमध्ये रु. १ करोड ५० लाख ३० हजार २ सय २५ मूल्य बराबरका सुन्तला, रु. १ करोड ३५ लाख ९० हजार २ सयको दूध, रु. ८ लाख ९५ हजारको केरा, रु. ७५ हजार ३ सय ५० को अम्बा, ३ लाख ९० हजारका खसीबोका, रु. ५ लाख २० हजार १ सय ५० का कुखुरालगायत विभिन्न कृषिजन्य सामग्री विक्री गरेबापत बिहुँमा रु. ३ करोड ८० लाखभन्दा बढी रकम भित्रिएको हो ।
काठेखोला–६ बिहुँका शिवलाल कँडेलले चालू आर्थिक वर्षमा मात्रै रु. १ लाख २० हजारको कृषिजन्य उत्पादन विक्री गरे। रु. ७० हजारको दूध, रु. ३० हजारको सुन्तला र १० हजारको उखु विक्री गरेर कँडेलले सो रकम कमाएका हुन्।
उहाँ जस्तै घरछेउको बारीमा सुन्तलाको खेती गरेका सयौँ किसान बिहुँमा छन्। उनीहरूले आम्दानीको मुख्य स्रोत कृषिजन्य उत्पादनलाई नै लिने गरेका छन्। “एउटा भैँसी पालेको छु, ७०/८० वटा सुन्तलाका रूख छन्,” कँडेलले भने, “दूध र फलफूल बेचेर घर खर्च चलाएको छु।” बिहुँका किसनाले अत्यावश्यक सामग्री बजारबाट ल्याउँदा त्योभन्दा धेरै कृषिजन्य उत्पादन बजार पठाउने गरेको उनको दाबी छ।
बिहुँबाट दूध तथा दुग्धजन्य उत्पादनको विक्रीवितरण र सुन्तलाको विक्री धेरै हुने गरेको छ। भरिभराउ देखिने बिहुँका बारीमा फलेको सुन्तलाले गाउँमा करोडौँ रकम भित्र्याएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए। बिहुँका किसानले कुनै न कुनै रूपमा कृषिजन्य उत्पादनको विक्रीवितरण गरेर घर खर्च चलाउने गरेका छन्।
व्यावसायिक रूपमा उत्पादन गर्नेले राम्रो आम्दानी गर्ने गरेको र निर्वाहमुखी खेती गरेकाले पनि घर खर्चका लागि कृषिजन्य उत्पादनकै भर गर्ने गरेको कँडेलले बताए। वडा कार्यालयले यहाँका किसानलाई चार तहमा विभाजन गरेर स्तरीकरण गरेको छ। वडा कार्यालयको तथ्याङ्कअनुसार व्यवसाय उन्मुख, सिमान्तकृत, निर्वाहमुखी र सोखका लागि कृषि पेशा गर्ने किसान बिहुँमा छन्।
वडा कार्यालयले गरेको सर्वेक्षणमा यहाँका ४ सय ७६ परिवार कृषि पेशामा आबद्ध छन्। उनीहरूमध्ये अधिकांशले निर्वाहमुखी कृषि पेशा गर्ने गरेको तथ्याङ्क छ। “बिहुँका हरेक किसानको बारीमा सुन्तला छन्, भैँसी पालेकाले दूध विक्री गरेकै हुन्छन्,” वडा अध्यक्ष कँडेलले भने, “कतै समूहमा त कतै सहकारी संस्थामा आबद्ध भएर यहाँका किसानले कृषिजन्य उत्पादनबाट आम्दानी लिन्छन्।”
बिहुँमा स्थापना भएको नमुना दुग्ध उत्पादक सहकारी संस्था र मिलीजुली दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुग्ध सङ्कलनदेखि बजारीकरणको काम गर्ने गरेका छन्। सहकारीमार्फत दुग्धको कारोवार गर्दा विक्रीका लागि बजार पुर्याउनुपर्ने झन्झटविना नै आम्दानी गर्न सकिने किसान कँडेल बताउँछन्।
बिहुँबाट वर्षेनि करोडौँ रुपैयाँको कृषिजन्य उत्पादन विक्री हुने गरेको भए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा व्यावसायिक नबनेको भन्दै वडा कार्यालयले कृषकको स्तरीकरण गरेको हो। “हामीले उत्पादन गरेर विक्री भइरहेको कुरामा समस्या छैन, यसैलाई व्यावसायिक उत्पादनसँग जोड्न खोजेका छौँ,” वडा अध्यक्ष कँडेलले भने, “सोखका लागि खेतीपाती गर्नेहरूलाई पनि राम्रो आम्दानीको स्रोतका रूपमा कृषिलाई अवलम्बन गर्ने बनाउन स्तरीकरण गरेका हौँ।”
बिहुँमा उत्पादन भएको दूध, फलफूल तथा तरकारी बाग्लुङ बजारमा विक्री हुने गरेका छन्। मध्यपहाडी लोकमार्गले यातायातमा सहजता बनाएकाले बजारीकरणमा कुनै समस्या नरहेको किसान बताउँछन्। सुन्तला उत्पादनको हिसाबले विशेष क्षेत्र मानिने बिहुँमा व्यावसायिक मौरीपालन र अलैँची खेतीको समेत शुरुआत गरिएको छ।
मुख्य क्षेत्रमै घट्यो आलु उत्पादन
आलुको मुख्य क्षेत्र ताराखोलामा यस वर्ष आलुको उत्पादन घटेको छ। हिउँदमा भएको निरन्तर वर्षा, असिना र विभिन्न रोगका कारण आलुको उत्पादन घटेको हो। गत वर्ष झन्डै ४० हजार टन आलु उत्पादन भएको ताराखोलामा यस वर्ष लगाएको बीउसमेत पुर्याउन कठिन भएको किसानले बताएका छन्।
ताराखोलामा प्रतिकिसानले हरेक वर्ष १५ देखि ९० क्विन्टलसम्म आलु उत्पादन गर्दै आएका थिए। यो वर्ष भने चार/पाँच क्विन्टलसमेत नपुगेको किसानको गुनासो छ। आलुको बिरुवा हुर्किने बेलामा परेको असिना र पानीले उत्पादन घटेको ताराखोला गाउँपालिका–५ करिमेलाकी नन्दी घर्तीले बताए। “पातै नराखी खायो दैवले,” घर्तीले भने, “बीउ पनि उठेन यसपालि।”
बजारमा यहाँको आलुको माग राम्रो रहेकाले किसानले व्यावसायिक रूपले आलुको खेती गर्दै आएका थिए। गत वर्ष एक रोपनी जमिनमा तीन क्विन्टल आलु फलाएका घर्तीले यो वर्ष थप जमिनमा आलु लगाएका थिए। तर, उत्पादन बढेर बजार पठाउनुको साटो बीउ पनि उठाउन कठिन भएको उनले बताए। “अर्को वर्षलाई बीउ पनि किन्न पर्ने हो,” उनले भने, “केही आम्दानी होला भनेको त आलु उत्पादन नै घटेर पो गयो।”
यहाँका किसानले आलुकै भरमा घर चलाउने गरेका थिए। छोराछोरी पढाउनेदेखि औषधि उपचार खर्च जुटाउने माध्यम पनि आलु नै हो। खानका लागि स्वादिलो भएकाले बाग्लुङ बजारलगायत देशका ठूलठूला शहरमा ताराखोलाको आलुको चर्चा छ। “हाम्रो गाउँपालिकाको मुख्य बाली नै आलु हो,” गाउँपालिकाका उपाध्यक्ष डिलकुमारी पुनले भने, “हातमुख जोर्ने खेती नै मासिएपछि किसान समस्यामा परेका छन्।”
ताराखोलाको तारा, करिमेला, लामुवा, अर्गल, धप्ल्याङ र रानीबाँस लगायतका गाउँ आलुकै परिचयले चिनिने गरेका छन्। हिउँदेबाली आलु मासिएपछि गाउँपालिकाले भने किसानलाई राहतका लागि तथ्याङ्क सङ्कलनको काम थालेको छ। “हामीसँग दैवीप्रकोप व्यवस्थापन शीर्षकमा रहेको केही रकमबाट राहत उपलब्ध गराउने सोचेका छौँ,” गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, “अहिले किसानको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ।”
यो वर्ष असिना पानीले पुर्याएको क्षतिपछि गाउँपालिकाले आलुको बीमा गर्ने योजना बनाएको छ। “यो वर्ष तत्कालका लागि हामीले हुन सक्ने राहत दिन्छौँ र बीउको जोहो गर्न भन्छौँ,” अध्यक्ष घर्तीले भने, “अर्को वर्ष सबै बारीको आलुको बीमा गर्ने योजनामा हामी छौँ।”
केही दिनमा नै सबै किसानको सामूहिक बैठक राखेर क्षति र राहतको विषयमा छलफल चलाउने घर्तीले बताए। यहाँको आलु घरबाट १ सय ३० रुपैयाँ र बाग्लुङ बजारमा १ सय ६० रुपैयाँमा प्रतिपाथी विक्री हुन्छ। प्रधानमन्त्री कृषि आधुनिकीरण कार्यक्रमअन्तर्गत ताराखोला गाउँपालिकालाई आलु जोन कार्यक्रममा समावेश गरिएको छ। (रासस)