काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राई ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त भनाइले आफू मात्र होइन, सम्पूर्ण नेपालीको शिर निहुरिएको महसुस भएको बताए। उनले संसदको रोस्ट्रममा उभिएर दिइएको अभिव्यक्ति गम्भीर विषय भएकाले त्यसको तथ्यसहित स्पष्टीकरण आवश्यक रहेको धारणा राखे। राईले प्रधानमन्त्रीले कुन–कुन स्थानमा नेपालले भारतको भूमि अतिक्रमण गरेको हो भन्नेबारे स्पष्ट विवरण दिनुपर्ने माग गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले नेपालले भारतसँग राख्दै आएको सीमा सम्बन्धी दाबी कमजोर बन्ने खतरा रहेको छ। उनले प्रधानमन्त्रीको भनाइ संसदको अभिलेखमा रेकर्ड भइसकेकाले त्यसले दीर्घकालीन प्रभाव पार्न सक्ने बताए।
साथै, उक्त अभिव्यक्तिमा सत्ता पक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उनले आपत्ति जनाए। राईले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा प्रधानमन्त्रीले पुनः संसदमा उभिएर स्पष्ट धारणा राख्नुपर्ने बताए। “यदि भोलि भारतले आफ्नो भूमि फिर्ता माग्यो भने नेपालले कुन भूमि दिने ?” भन्दै उनले प्रश्नसमेत उठाए।प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणप्रति पनि उनले असन्तुष्टि जनाए। उनका अनुसार भूमि अतिक्रमणको विषयलाई ‘क्रस बोर्डर अकुपेसन’ भनेर व्याख्या गर्नु उचित नभएको टिप्पणी गरे। राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपरिपक्व र राष्ट्रहितविपरीत भएको आरोप लगाउँदै यसले नेपाललाई पनि सीमा अतिक्रमण गर्ने मुलुकको रूपमा चित्रित गर्न सक्ने चेतावनी दिए।