काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद जनार्दन शर्माले हिजो लिलाम गरिएका उद्योग फिर्ता गर्ने कार्यक्रम बजेटमा समावेश किन गरिएन ? भन्दै प्रश्न गरेका छन्। बिहीबारको संसद बैठमा बोल्दै सांसद शर्माले अर्थमन्त्री डा. युवराज खतिवडालाई हिजो बेचिएका उद्योगहरू फिर्ता गरेर जनता र सरकारको बनाउने कार्यक्रम बजेटमा किन समावेश नगरिएको हो ? भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘विगतमा अन्य अर्थमन्त्रीले गरेका गल्तीहरूलाई किन सच्याउनु भएन ? विगतका अर्थमन्त्रीले गरेका गल्तीलाई सच्याउनुपर्छ कि पर्दैन ? हिजो बेचिएका र नयाँ स्थापना गरिने उद्योगहरूलाई बजेटमा प्राथमिकताका साथ समावेश गर्नुपर्छ। युवाहरूलाई बजेट खर्चमा सहभागी गराउने कुरा खै ? एनजीओ र आईएनजीओेले मात्रै बजेट खर्च गर्न सक्छन् ?’
हराएको कर्णाली प्रस्तुत बजेटमा भेटियो
सांसद जनार्दन शर्माले हराएको कर्णाली विनियोजित बजेटमा भेटिएको बताएका छन्। समावेश गरिएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन्।
उनले भने, ‘गत वर्ष बजेटमा कर्णाली हराएको थियो। अहिले बजेटमा कर्णाली समावेश भएको छ। मानव सूचकांक र विकासका दृष्टिबाट धेरै पछि परेको कर्णालीलाई बजेट विन्यासले सम्बोधन गरेको छ। अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु।’ उनले फरक प्रसंगमा हिजोका दिनमा भए-गरिएका गल्ती, कम्जोरी र राम्रा कामको जिम्मेवारी लिनबाट भाग्न कसैलाई छुट नभएको दाबी गरेका छन्।
सांसद शर्माले इतिहासमा भएका राम्रा कामको जस र नराम्रा कामको अपजस लिनुपर्ने बताउँदै भने, ‘आजको परिवर्तनमा तत्कालीन समयमा सञ्चालन गरिएको जनयुद्धले ठूलो भूमिका खेलेको थियो। आज आएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन्। उक्त जनयुद्धको एक कमाण्डर हुनुको नाताले म पनि जिम्मेवारी लिन्छु, क. प्रचण्डले पनि लिनु हुन्छ।’
उनले अगाडि भने, ‘पानीमाथिको ओभानो बन्न खोज्नु मूर्खता हो। गल्ती र परिवर्तनलाई सामूहिक रूपमा लिन सकौं। याद रहोस् पानीमाथि कोही ओभानु रहँदैन।’ पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले जनताको श्रममा जनताकै स्वामित्व नभएसम्म समाजवादको बाटा तय नहुने बताउँदै बजेटको कार्यन्वयमा जुट सबैलाई आग्रह गरेका छन्।
सत्ता पक्षले गलतलाई पनि राम्रो भन्नु पर्ने र प्रतिपक्षले राम्रोलाई समेत नराम्रो भन्नुपर्ने परम्पराले देश बिग्रेको उनको दाबी छ। उनले भने, ‘प्रतिपक्षले राम्रोलाई राम्रो भन्न सक्नुपर्छ। सत्तापक्षले नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। यसरी सत्ता पक्षले नराम्रोलाई राम्रो भन्नुपर्ने र प्रतिपक्षले राम्रोलाई नराम्रो भनेर विरोध गर्नुपर्ने परम्पराले राष्ट्र बन्दैन।’
उनले भने, ‘चालू खर्चलाई घटनाउने र पूँजीगत खर्च बढाउन के गर्नुपर्ला ? यसका बारेमा छलफल गर्नुपर्छ। परम्परागतभन्दा माथि उठेर छलफल गरौं। सामाजिक न्यायलाई ध्यानमा राखेर बजेटलाई खर्च गर्नेमा युवाहरूलाई जोड्नुपर्छ।’