पोखरा – दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव अन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गरेका छन्। अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी ४ घण्टा ६ मिनेट ५३ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्।
त्यस्तै हरिकुमार रिमालले उक्त दूरी ४ घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गरेका छन्। त्यस्तै गोपाल तामाङले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बनेका छन्।
समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो।
म्याराथनमा प्रथम हुने धावकले रु. १ लाख ५ हजार, दोस्रोले रु. ७५ हजार र तेस्रो हुनेले रु. ५५ हजार नगद प्रमाणपत्र प्राप्त गर्नेछन्। धावकलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नेछन्। (रासस)