वीरगञ्ज - समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले खाद्यान्न सामग्रीमा लगाइएको भ्याट तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। आज आइतबारदेखि शुरू भएको संघीय संसदको आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा उनले त्यस्तो माग गरेका हुन्।
उनले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरूलाई असर पर्ने गरी भ्याट लगाइएको बताउँदै तत्काल हटाउन माग गरेका हुन्। उनले भने, ‘आमजनताको दैनिकीसँग जोडिएको खाद्यान्न सामग्रीहरू आँटा र सोयाबिनमा लगाइएको भ्याट कर तत्काल हटाउन म सभामुखमार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँछु।’
सांसद यादवले भने, ‘सरकारले भनिरहेको छ समृद्ध नेपाल सुखी नेपाली, तर सरकारको भनाइ र गराइमा धेरै फरक छ। आमजनताले दैनिक उपभोग गर्ने खाद्यान्न सामग्रीमा भ्याट कर लगाएर नेपाली सुखी हुँदैनन्। त्यस कारण आमजनतालाई असर पार्ने त्यस्ता करहरूलाई तत्काल हटाउन अर्थमन्त्रीलाई आग्रह गर्छु।’
आँटा र सोयाबिनमा लगाइएको करले ठूलाबडाहरूलाई खासै असर पर्दैन। जो दैनिक काम गरेर खाने गरिब किसानहरू छन्, उनीहरूलाई महँगीले दैनिक जीविकोपार्जन गर्नसमेत अप्ठ्यारो हुने भएकाले यस्ता कर कुनै पनि हालतमा नलगाउन र तत्काल फिर्ता लिनसमेत सांसद यादवले मग गरे।