काठमाडौँ – राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले समृद्ध तराई मधेश कार्यक्रम बजेटमा समावेश नभएको भन्दै सरकारको ध्यानकर्षण गराएका छन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ठाकुरले हालसम्म सञ्चालन भइरहेको ‘समृद्ध तराई मधेश’ कार्यक्रम बजेटमा नआएकोमा भन्दै अर्थमन्त्री युवराज खतिवडासँग प्रश्न गरे।
सांसद ठाकुरले सिंँचाइका लागि मधेशका गाउँगाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत सम्भारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंँचाइ सुविधाको कार्यक्रम सफल हुनेमा जोड दिए।
तराईमा विभिन्न पर्यटकीय र धार्मिक तथा सांस्कृति धरोहर संरक्षणमा सरकारले बजेटमा समावेश नभएको भन्दै उनले असन्तुष्टि पोखे। उनले तराईका धार्मिक तथा सांस्कृतिक क्षेत्र, गढिमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान, धनुषाक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वर्द्धनलाई सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
उनले प्रदेश नं २ लाई सौर्य ऊर्जाको उपयोग गरेर अन्धकारमुक्त बनाउने, भूमिगत सिँचाइ, हुलाकी सडकमा समेत सरकारले बजेटमा प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै छुट्याइएको बजेट कार्यान्वयनमा ल्याउन आग्रह गरे।