काठमाडौँ - नेकपाका सांसद योगेश भट्टराईले सरकारले हालै ल्याएको वितरणमुखीजस्तो देखिने बजेट ल्याउनु सरकारको रहर नभई बाध्यात्मक परिस्थिति भएको बताएका छन्। उनले आज आइतबार संघीय संसदको बैठकमा बोल्दै सरकारले अहिलेको देशको वर्तमान आवश्यकतालाई ध्यानमा राखेर ल्याउनुपर्ने परिस्थितिले गर्दा नै यस्तो बजेट ल्याएको टिप्पणी गरेका छन्।
उनले भने, ‘नेपालमा गरिबी, विभेदकारी समुदाय तथा आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पहुँच नपुगेका जनताका लागि हाम्रोजस्तो देशले उत्पादनमुखी बजेटभन्दा पनि वितरणमुखी बजेट ल्याउनु रहर नभई बाध्यात्मक परिस्थिति हो। यस्तो खालको बजेट सरकारले चाहेर होइन, नेपालको वस्तुस्थितिलाई ध्यानमा राखेर ल्याएको हो।’
सांसद भट्टराईले यो बजेट जसले जस्तो अर्थ लगाए पनि समग्रमा जनतामुखी भएको दाबीसमेत गरेका छन्। उनले अल्पसंख्यक, पछाडि परेको जनताको जीवनस्तर उकास्न अहिलेको सरकारले ल्याएको बजेट हेर्दा वितरणमुखीजस्तो लागे पनि समग्रमा यो बजेट परिणाममुखी र जनतामुखी भएको बताए।
उनले नेपालमा गरिबीको रेखामुनि रहेका जनताको संख्या अधिक रहेको र यो बजेटले गरिबी र पिछडिएको जनजाति, समुदाय, दलित तथा महिलाहरूको जीवनस्तरलाई सहयोग पुग्ने खालको भएको जिकिर गरे।