झलनाथ खनाल, कैलाली– तत्कालीन नेकपा माओवादीले थालेकोे सशस्त्र द्वन्द्वका बेलामा सरकार र विद्रोही पक्षबाट हजारौँ मानिसले ज्यान गुमाए। हजारौँ घाइते र बेपत्ता भए।
सशस्त्र द्वन्द्व र २०६२/०६३ को जनआन्दोलनको प्राप्ति हो, गणतन्त्र। हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रको प्रत्याभूति नेपाली जनताले पूर्णरुपमा महसुस गर्न सकेका छैनन्। जुन अपेक्षाले सशस्त्र द्वन्द्व र जनआन्दोलन गरिएको थियो। त्यसको अपेक्षित उपलब्धिको महसुस आम नेपाली जनताले गर्न नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन्।
विसं २०५२ मा शुरु भएको सशस्त्र द्वन्द्व (जनयुद्ध) मा दार्चुलादेखि पाल्पासम्मका २१ वटा लडाइँ (मोर्चा) लडेका ललितबहादुर थापा (शिव) ले जनताले मौलिकता, मौलिकहकको प्रत्याभूति, अधिकारको प्राप्ति, सामन्ती सरकारको अन्त्य, अस्तित्वको रक्षाजस्ता कुरामा जनताले गणतन्त्रको प्रत्याभूति गर्न पाए पनि राजनीतिक र वैचारिक रुपमा बाँडेका सपनाहरु पूरा नभएको बताए। “युगले जन्माएका राता मान्छेहरु हराएका छन्। घाइते, अपाङ्ग, बेपत्ता भएका मानिसहरू न्याय पाउन सकेका छैनन्”, थापाले भने, “जुनअपेक्षा र परिवर्तनका लागि हामी लडेका थियौँ, त्यो परिवर्तन भएको छैन। आज गणतन्त्रको प्रत्याभूति जनताले गर्न नसकेकै कारण क्रान्तिका झिल्का देखिन थालेका छन्।”
“सामाजिक न्याय र विभेदरहित समतामूलक समाज निर्माण गर्नका लागि जनताले गणतन्त्र ल्याइएको हो”, उनले भने, “अपेक्षाअनुसार गणतन्त्र स्थापित गर्नु अहिलेको प्रमुख चुनौती हो।” समाजवाद स्थायित्वका लागि भएको सङ्घर्ष फेरि पनि पूँजीवादीतिरै उन्मुख भएको भन्दै थापाले अहिलेको गणतन्त्र पूँजीवादी गणतन्त्र हो कि जनवादी त्यसलाई स्पष्ट पार्न आवश्यक रहेको धारणा राखे।
“मसँगै चार भाइ, भाइबुहारी, बहिनी, एक भतिजा सामन्ती राज्यसत्ताको अन्त्य, गणतन्त्रको स्थापनाका लागि भूमिगत भएरै लड्यौँ”, थापाले भने, “मेरो मात्र होइन। यस्ता सयौँ परिवार परिवर्तनका लागि लडे तर आज तिनै युद्ध लडेका युवाहरु अयोग्य भए। राज्यले अपमान गर्यो। ती लडाइँका घाउहरु अझै पनि बल्झिरहेकै छन्।”
सशस्त्र द्वन्द्वको समयमा थापा परिवार अछामको दर्ना गाविसको पाटेखेत भन्ने ठाउँमा बसोबास गर्थे। कैलाश खोलाको किनारमा चिया पसल चलाउँदै आएका थिए, बुबा आमाले। त्यही बेला २०५७ साल माघमा शिव भूमिगत भए। आठ दाजुभाइ र एक बहिनीमध्ये एकपछि अर्को गर्दै सात जना सशस्त्र द्वन्द्वमा भूमिगत भए। सरकार पक्ष र विद्रोही पक्ष चरम उत्कर्षमा पुगेका बेला घरका सात जना विद्रोहमा होमिनु कम चुनौती थिएन। त्यतिबेला थापाका बुबाको सरकारी पक्षका सेनाको कुटाइबाट ढाड भाँचियो।
आमाका दाँत भाँचियो। कैयौँ पटक पसल तोडफोड भयो। कैयौँ पटक घर लुटियो। बुबा ढाडकै कारण बित्नुभयो। “मेरो परिवार परिवर्तनका लागि लडिरहेको थियो। हामीलाई ज्यानको माया थिएन”, थापाले भावुक हुँदै भने, “यति हुँदा पनि हामीले न त बस्ती छोड्यौँ। न त युद्ध लड्न नै।” थापा परिवारलाई मुख्य निगरानी तत्कालीन सरकार पक्षले गरिरहेको थियो। कैयौँ पटक थापा परिवारकै कारण अन्य स्थानीयवासीले पनि सरकारी सेनाको हातबाट पिटाइसमेत खाएका छन्।
देश आज परनिर्भर हुँदैछ। खेतबारी दिनानुदिन बाँझिदैछन्। अरूसँग मागिखाने चलनको अन्त्य हुन सकेको छैन भन्दै थापाले निषेधको राजनीति, गुटबन्दीको सरकारले गणतन्त्रलाई बाँधेर राखेकाले पनि यस्ता सबै कुराको अन्त्य भए मात्र गणतन्त्रको प्रत्याभूति हुन सक्ने बताए।
एकीकृत नेकपा माओवादीको कैलाली जिल्ला उपाध्यक्षसमेत भएका थापा कैलालीको टीकापुरमा सफल कृषकका रुपमा परिचित छन्। अहिले टीकापुरमा उनले ‘दारु होइन, दूध खाऔँ’ को अभियान चलाउँदै आएका छन्। परिवार नै कृषिमा संलग्न छ। थापाले भैँसी फार्मसँंगै खेतीपाती पनि गर्दै आएका छन्। जेठको यो उराठलाग्दो समयमा थापाको बारी हरियाली छ। राजनीतिले मात्र सबै नहुने भन्दै राजनितीलाई पार्ट टाइमका रुपमा लिनुपर्ने थापाको मान्यता रहँदै आएको छ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट टीकापुर नगरपालिका नगरप्रमुखको उम्मेदवारसमेत बनेका थापाले देशको वर्तमान अवस्था देखेर जनताले इतिहास खोज्ने अवस्थामा पुगिसकेको भन्दै फेरि पनि सङ्घर्ष र क्रान्ति हुनसक्ने बताउछन्। “हामी प्रचण्डपथबाट प्रभावित भएका थियौँ”, थापाले भने, “कहाँ हरायो प्रचण्डपथ ? कहाँ हरायो मार्क्सवाद ? कहाँ हरायो लेलीनवाद ? यसको प्रत्याभूति गणतन्त्रले गर्न सकेन। त्यसकारण पनि क्रान्ति हुन सक्छ।”
त्यस्तै, सशस्त्र द्वन्द्वको बेला विद्रोही पक्ष माओवादी कुटाइबाट अशक्त भएका पदमराज खनालले गणतन्त्र केही नेताहरुका लागि मात्र आएको भन्दै हिजोका दिनमा परिवर्तनका लागि लडेका शहिद, घाइते र बेपत्ताहरुका लागि नआएको बताए। “अहिले देशमा तीन तहका सरकार छन्। देशमा परिवर्तन भएकै हो”, सामाजिक अगुवा पदमराज खनालले भने, “जनताले भएको परिवर्तनको महसुस गर्न सकेका छैनन्। परिवर्तनको महसुस सरकारले गराउन सक्नुपर्दछ।”
द्वन्द्वको समयमा बल्झेका घाउहरु अझै पुरिन नसकेको अवस्थामा सशस्त्र द्वन्द्वको बेला तत्कालीन माओवादीबाट आफू पनि पीडित भएको बताउने खनाल विगतका कुरा सम्झेर पुरिन लागेका घाउ बल्झाउनु भन्दा नयाँ ढङ्गले जीवनको शुरुआत गर्नु नै राम्रो हुने बताउछन्। खनालका एक छोरा र एक छोरी सशस्त्र द्वन्द्वको बेला भूमिगत भएका थिए। छोराछोरी दुवै भूमिगत हुँदा पनि विद्रोही पक्षबाट निर्घात कुटिएका खनाल राम्रोसँग हिँडडुल पनि गर्न सक्दैनन्। “परिवर्तनका लागि तत्कालीन नेकपा माओवादीले चालेको कदमले राज्यसत्ताको अन्त्य गरी देशमा गणतन्त्रको स्थापना भएकै हो”, खनालले भने, “तर गणतन्त्रको महसुस आम जनताले गर्न सकेका छैनन्। अहिलेको नेकपाबाट केही आशा लाग्दा कामहरु भएका छन्। तर घाइतेको घाउमा मल्हम लाग्न सकेको छैन। जनताले गरेको अपेक्षा पूरा हुन सकेको छैन।”
यस्ता कैयौँ घटनाहरु सशस्त्र द्वन्द्व र २०६२/६३ को जनआन्दोलनमा परेकाहरुका छन्। सबैको भनाइ एउटै छ, गणतन्त्रको पूर्ण प्रत्याभूति हुन सकेको छैन। हिजो गणतन्त्र प्राप्तिका लागि नेतृत्व गर्नेहरु पूँजीवादी चिन्तनमा फसिसकेका छन्। देशमा भ्रष्टाचार, बलात्कार, हत्या हिंसाजस्ता सामाजिक कुरीति र कुसंस्कारले स्थान लिँदैछ। त्यसैले वर्तमान सरकारले आम नेपालीहरुलाई प्रत्याभूति हुने गरी गणतन्त्रको कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्नेमा अगुवाहरुको भनाई छ। (रासस)