काठमाडौँ - निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुन सकेको छैन। विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो।
निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्यासमेत समाधान हुनसकेको छैन। क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको ९ वर्षपछि पनि किनबेच भयो। विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताइन्।
कित्ता नं. ४०१ र ४०४ को ३ आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उनले चिन्ता प्रकट गरिन्। मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए।
मूलपानीको २ सय ९६ रोपनी जग्गामा हाल दुईवटा मैदान अन्तिम चरणमा पुगेको उनले बताए। माथिल्लो मैदानमा गतवर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो। तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु भएको छ।
प्रतियोगितामा ७ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकुद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईले बताए।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयालले खेलकुदमा व्यावसायिक विकास हुनुपर्ने बताए। मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न लागिएको बताए। नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्त्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले सुनाए।
नेपाली कांग्रेसका २ नं. क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एशियन क्रिकेट एकेडेमी बनाउन स्थानीयबासीले सार्वजनिक जग्गा दिएको बताए। मैदानलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआएकाेमा स्थानीयबासी नवराज आचार्यले दुःख व्यक्त गरे।
मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन। मैदान र प्यारापिट बाहिरको खाली भागमा झाडी देखिन्छ। मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ। यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरूप रु. दुई लाख लिएर हिँडेका सुकुम्बासीले कब्जा जमाएका छन्। (रासस)