काठमाडौँ - राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनाउँदै प्रदेश १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले। ९३ बल खेलेको उनले ४ चौकाको मद्दतमा ५६ रन बनाएका हुन्।
त्यसैगरी हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ प्रदेश १ का दीपेश कँडेलले ३ विकेट लिए भने मुकुन्द यादव, सिद्धान्त लोहनी र फिरदोस अन्सारीले समान २/२ तथा पुष्प थापाले १ विकेट झारे। यसअघि भएको आफ्नो पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा तीन विभागीय टोलीसहित ७ प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले रु. २० लाख तथा उपविजेताले रु. १० लाख प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु. ५० हजार प्राप्त गर्नेछन्। (रासस)