काठमाडौँ – राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २ सय ८९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २ सय ८८ रनको योगफल बनाएको हो।
एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले। सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए। १ सय ३ बल खेलेका सुमितले ६ छक्का र ५ चौका प्रहार गरे। त्यस्तै ५८ बल खेलेको पृथुले एक छक्कासहित ३ चौका प्रहार गरे।
त्यसैगरी एपीएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले ७ रन जोडे। बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान ३/३ विकेट लिए भने पारस खड्का र सूर्य तामाङले समान १/१ विकेट लिए।
विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउने छ। (रासस)