नयाँ दिल्ली, २६ पुस – भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार भारत सरकारको विदेश मन्त्रालय र ओब्जर्भर रिसर्चर फाउण्डेशनद्वारा आयोजित रायसीना संवादमा सम्बोधन गरेका छन्।
भारतको राजधानी दिल्लीमा मंगलबारदेखि सुरु भएको रायसीना संवाद–२०१९ मा सहभागी हुन दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले बिहीबार सम्बोधन गर्दै वैश्विकीकरणका सकारात्मक र नकारात्मक पक्षका बारेमा टिप्पणी गरेका छन्।
वैश्विकीकरणले गर्दा नेपालजस्ता विश्वका कयौँ मुलुकलाई आफ्नो देशको गरिबी निवारण गर्न टेवा पुगेको बताए। ‘वैश्विकीकरणले व्यापार बढेको छ, व्यवसाय बढेको छ, लाखौँ रोजगारीको सृजना भएको छ,’ उनले थपे।
यसअघि बिहीबारै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुषमा स्वराजसँग भेटघाट गरेका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार बौद्धिक व्यक्ति र सञ्चारकर्मीसँग बिहान ८ बजे र नेपाली समुदायसँग बिहान ११ बजे दिल्लीस्थित राजदूताबासमा नेपालको विकासका सन्दर्भमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
अब्जर्भर रिसर्चर फाउण्डेशनको साझेदारीमा भारतको विदेश मन्त्रालयद्वारा आयोजित रायसीना संवादमा यस वर्ष विश्व व्यवस्थामा नयाँ समीकरण, बिग्रदो साझेदारी र अनिश्चित परिणाम मुख्य नारा रहेको छ।
संवादमा वर्तमान वैश्विक मुद्दा र चुनौती, नयाँ प्रविधि, नयाँ साझेदारी र नेतृत्वको नयाँ प्रक्रियामाथि छलफल भइरहेकोछ। संवादको उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितिमा नर्वेकी प्रधानमन्त्री एर्ना सोलबर्गले सम्बोधन गरेकी थिइन्।
संवादमा ९३ देशका ५ सयभन्दा धेरै प्रतिनिधि सहभागी छन्। कयौँ देशका प्रतिनिधिले कार्यक्रममा सम्बोधन गरिसकेका छन्।