रमेश लम्साल, काठमाडौँ - नेपालले विश्वका १ सय ५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको विवरणमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको छ भने व्यापार नाफामा रहेका मुलुकको कारोबार भने असाध्यै न्यून छ। विवरणमा नाम मात्रैको व्यापार ती देशसँग भएको उल्लेख छ।
छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ। भारतबाट रु. ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ। नेपालबाट रु. ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ।
निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ। भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग रु. ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको छ।
यस्तै उत्तरी छिमेकी देश चीनबाट रु. १ खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्य बराबरको सामान आयात हुँदा रु. १ अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्य बराबरका सामान मात्र निर्यात भएको छ। चीनसँग नेपालको व्यापार घाटा रु. १ खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ।
नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ। सो देशसँग रु. २६ अर्ब ७० करोड ४ लाख ६२ हजार बराबरको व्यापार घाटा छ। सो देशबाट रु. २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा रु. ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ।
नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ। फ्रान्ससँग रु. १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ। फ्रान्सबाट रु. १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु. ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ।
इन्डाेनेसिया, थाइल्यान्ड, क्यानाडा, मलेसिया, स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेन लगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ।
नेपालको कुल व्यापार हुने मुलुकमध्ये बहामासमा रु. ८ लाख ६९ हजार, यमनमा रु. १ करोड ८२ लाख ८७ हजार, अल्जेरियामा रु. ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडामा रु. २ लाख ७८ हजार, न्यू क्यालेडोनियामा रु. १ करोड ६६ लाख ६१ हजार, गुयनामा रु. २८ लाख ५१ हजार, अजरबैजानमा रु. १८ लाख ८४ हजार र पानामा रु. २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ।
चालू आवको ९ महिनामा रु. १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख ४ हजार बराबरको आयात भएको छ। यस्तै सोही अवधिमा रु. ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ। व्यापार घाटा मात्रै रु. ९ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार बराबरको रहेको छ।
विभागका अनुसार कुल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन्। सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि रु. ४५ करोड १४ लाख ४६ हजार बराबरको व्यापार घाटा छ भने भुटानसँग रु. १ अर्ब ५ करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ।
यसैगरी श्रीलङ्कासँग रु. २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने रु. १ करोड ४७ लाख ८४ हजार बराबरको नाफामा रहेको छ। यस्तै बङ्गलादेशसँग रु. २ अर्ब ४६ करोड ७ लाख ५८ हजार बराबरको व्यापार घाटा रहेको छ। (रासस)