तौलिहवा - बुद्ध जयन्तीका अवसरमा गौतमबुद्धको गृहनगर कपिलवस्तुमा मिनी म्याराथन दौड प्रतियोगिता आज (शुक्रबार) सम्पन्न भएको छ।
शाक्यमुनि सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि पहिलोपटक आफ्ना मातापितालाई भेट गरेको प्राचीनस्थल निग्रोधाराम (कुदान)बाट जिल्ला प्रशासन चोकसम्म करिब ४ किमीसम्म धावकहरू सहभागी भएका थिए।
प्रतियोगितामा विद्यालयतर्फबाट वाणगङ्गा मावि लौगाइका अजय पाण्डे पहिलो, कनकमुनि मावि जगदीशपुरका श्यामसुन्दर यादव दोस्रो र कपिलवस्तु राष्ट्रिय माविका बलिराम खरविन्द तेस्रो भएका छन्। यसैगरी प्रतियोगिताको खुलातर्फ अर्जुन चौधरी पहिलो, सुरज कहार दोस्रो र गङ्गा सागर कुर्मी तेस्रो भएका छन्।
म्याराथन दौड प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य धरमबहादुर लाल श्रीवास्तवले बौद्ध जयन्तीलाई कपिलवस्तुमा भव्यताका साथ मनाउन सबै क्षेत्र र वर्ग समुदायलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य अमरिका कोहारले विगतका वर्षको तुलनामा कपिलवस्तु जिल्लामा भव्य ढङ्गबाट बुद्ध जयन्ती मनाउने तयारी सबै पूरा भएको बताए। (रासस)