काभ्रेपलाञ्चाेक – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ।
काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रवीण ज्ञवालीले बताए।
“हामीले आह्वान गरेको हिजोसम्मको समयसीमाभित्र २४ वटा समूहले नाम दर्ता गरिसकेका छन्,” संयोजक ज्ञवालीले भने, “नाम दर्ताका लागि प्रतिसमूह १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो।”
प्रतियोगितामा विजयी समूहले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि १५ लाख २१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको ज्ञवाली बताउँछन्।
यसरी यहाँ आयोजना गरिएको प्रतियोगिता याे दोस्रो पटक हो। गत वर्षमा गरेको पहिलो प्रतियोगितामा १६ वटा समूहले भाग लिएका थिए। (रासस)