काठमाडौँ, २५ पुस – नेपाली कांग्रेसको १३औँ महाधिवेशन हुन अझै डेढ वर्ष बाँकी छ। तर, कांग्रेस नेताहरू महाधिवेशन आइसकेको झल्को दिने गरी देशदौडाहामा छन्।
चितवनसहित पूर्वका केही जिल्लाको भ्रमणपछि केन्द्रीय सदस्य शेखर कोइराला फर्किएको केही समयपछि अर्का प्रभावशाली नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह पश्चिमतर्फ लागेका छन्।
सिंहले पुस २६ देखि २८ गतेसम्मका लागि जिल्ला भ्रमण तालिका तय गरेका छन्। पुस २६ गते कैलालीमा हुने पार्टीका कार्यक्रम तथा कार्यकर्तासँग भेट तय भएको जनाइएको छ।
त्यसैगरी पुस २७ गते कञ्चनपुरमा हुने पार्टीको कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा उनी सहभागी हुनेछन्। र, पुस २८ गते बर्दिया जिल्लामा हुने पार्टी कार्यक्रम तथा भेटघाट हुने नेता सिंहको सचिवालयले जनाएको छ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, राजेन्द्रकुमार केसी, काठमाडौँ जिल्ला सभापति सबुझकृष्ण बानियाँ, बर्दिया पार्टी सभापति सञ्जयकुमार गौतम लगायतले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।