काठमाडौँ – राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरिसचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक गर्नेलगायतका माग गर्दै शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन र कोणसभा निर्णय गरेको हो।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको राजपाले सरकारलाई दबाब दिन सडक संघर्षको कार्यक्रम तय गरेको हो। राजपाले संविधान संसोधन, जेलमा रहेका रेशम चौधरीलगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न माग गरेको छ।
त्यसैगरी राजपाले भ्रष्टाचारी, कालोबजारी, महँगी, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न तथा राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द लगायत ९ बुँदे माग अघि सारेको छ।