काठमाडौँ – नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे’ को मोबाइल एप्स डाउनलोड गर्नेको संख्या १० लाख नाघेको छ। यो संख्या नेपालका बैंक, वित्तिय तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरु मध्ये सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ।
पछिल्लो समय नेपालीहरु मोबाइल तथा इन्टरनेट भुक्तानी गर्न अभ्यस्त हुँदै गइरहेको सन्दर्भमा इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या १० लाख भन्दा माथि नाघेको कम्पनीले जनाएको छ।
मोबाइल एप्स डाउनलोड गर्नेको संख्या १० लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले ‘मोबाइललाई कुराकानी गर्नेमध्येबाट भुक्तानी सेवा, रेमिट्यान्स, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रुपमा स्थापित गर्ने क्रममा १० लाख एप्स डाउनलोड हुनुले थप हौसला मिलेको र आगामी दिनमा पनि नेपालका शहरदेखि ग्रामीण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहनेछौँ भन्दै आफ्नो कुरा व्यक्त गरे।
सन् २०१० जनवरी २५ बाट शुरु गरेको इसेवाको करिब १५ लाख ग्राहक मध्ये मोबाइल एप्सबाट कारोबार गर्नेहरु नै १० लाख पुगेका हुन्। यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाइल बैंकिङ मार्फत ७५ लाख करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तिय संस्था रहेका छन्।