काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्।
राजधानीमा आज (शुक्रबार)देखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रूपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए।
नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकास खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डोर्याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए।
“गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ,” असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने।
लगानीका लागि ७५ भन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उनले नेपालमा उपलब्ध अवसरको भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए।
लगानीका अथाह अवसर भएको नेपालका ३ करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै उनले नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन आग्रह गरे।
बुद्ध जन्मस्थल र सर्वाेच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमाल पहाडको देशलाई आफ्नो दोस्रो गृहका रूपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पूँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे। (रासस)