बेझाड - नेपाल ट्रेड युनियन कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ। शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ। अध्यक्ष बस्यालको नेतृत्वमा ९ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी, सचिवमा विक्रम घिमिरे, सहसचिवमा माधव वाग्ले, कोषाध्यक्षमा पार्वती परियार, सदस्यमा तीर्थ भण्डारी, मञ्जु भट्ट र नारायणप्रसाद सिग्देल चयन भएका छन्।
अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति देवराज ढकालले नयाँ नेतृत्वलाई सबैको हितमा रहेर काम गर्न आग्रह गरे। कांग्रेस महासमिति सदस्य तथा नगरपालिका प्रमुख रमणबहादुर थापाले पदीय जिम्मेवारी धारणा गरेका व्यक्तिले कुशल र जुझारु रूपमा नेतृत्व गरेर अगाडि बढ्न शुभकामना दिए।
पाल्पाका १० स्थानीय तहमा तीव्र रूपमा अधिवेशनका कार्यक्रम अगाडि बढेका छन्। अहिलेसम्म जिल्लाका रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका अध्यक्ष लक्ष्मण रायमाझीले जानकारी दिए।
उनका अनुसार बाँकी रहेका सबै स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ। पाल्पामा नेपाल ट्रेड युनियन कांग्रेसमा १२ विभिन्न सङ्घसंस्था आबद्ध छन्।
नेपाल शिक्षक सङ्घ, नेपाल ब्युटिसियन सङ्घ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल प्रेस युनियन, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल गृह श्रमिक सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल नाइ सङ्घ, नेपाल पर्यटन होटल क्यासिनो सङ्घ, नेपाल इम्बोइडरी हेण्डिक्र्याफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ छन्। (रासस)