काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएको रसुवाको लाङटाङ पदमार्ग वैकल्पिक बाटो निर्माण गरिएपछि पुनः सञ्चालनमा आएको छ।
पदमार्ग खुलेसँगै लाङटाङ क्षेत्रका पर्यटन व्यवसायी र स्थानीयवासीमा उत्साह थपिएको छ।बाढीका कारण पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँसी आसपासका पूर्वाधारमा क्षति पुगेपछि लाङटाङ जाने बाटो अवरुद्ध भएको थियो। पदयात्रीको आवागमन सहज र सुरक्षित बनाउने उद्देश्यले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान तथा स्थानीय तहको सहकार्यमा प्रभावित क्षेत्रलाई छल्ने वैकल्पिक मार्ग तयार गरिएको हो।
नयाँ मार्गबाट पर्यटकले धुन्चे हुँदै ठूलो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, बम्बो र लामा होटल भएर लाङटाङ गाउँसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ।गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु ज्याङ्बा तामाङका अनुसार बाढीले आवागमनमा समस्या सिर्जना गरे पनि अहिले वैकल्पिक बाटो तयार भइसकेको छ। उनले लाङटाङ क्षेत्रका होटल, चियाघर र अन्य पर्यटन व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको बताउँदै भ्रमणमा आउन आग्रह गरेका छन्।
बाढीका कारण पर्यटनमा निर्भर स्थानीयको आम्दानी प्रभावित भएको अवस्थामा पदमार्ग पुनः सञ्चालन हुनुलाई आर्थिक गतिविधि पुनर्जीवित गर्ने अवसरका रूपमा हेरिएको छ। यसबाट होटल तथा चियाघर सञ्चालक, पथप्रदर्शक र भरियाको रोजगारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।सम्बन्धित सरोकारवालाले लाङटाङ क्षेत्रको पर्यटन पुनरुत्थान र स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्याउन आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरेका छन्। पदयात्रामा निस्कनुअघि भने वैकल्पिक मार्गको वर्तमान अवस्था र सुरक्षा व्यवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिनु उपयुक्त हुनेछ।