काठमाडौं । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्टी) को कामकारबाही सञ्चालन गर्न डा. जनार्दन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ अनुसार प्राज्ञ सभा गठन तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्मका लागि बढीमा तीन महिनाको अवधि तोकेर समिति गठन गरिएको हो। कात्तिक ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको जनाइएको छ। समितिको संयोजकमा डा. जनार्दन लामिछाने रहेका छन् भने सदस्यहरूमा डा. गोपालबहादुर केसी, डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ रहेका छन्। कात्तिक १२ गते बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महावीर पुनले समितिका संयोजक तथा सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरे।
सो अवसरमा उनले अध्यादेशको मर्मअनुसार नास्टीको पुनर्संरचनाका लागि आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिए। मन्त्री पुनले आवश्यक नियमावली तथा विनियमावलीको मस्यौदा तयार गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अघि बढाउने तथा प्रतिष्ठानको अध्यक्ष चयन र उपाध्यक्ष मनोनयनको प्रक्रिया अगाडि बढाउन समितिलाई निर्देशन दिएका हुन्।समितिका संयोजक तथा सदस्यहरूले मन्त्रालय, नास्टी परिवार र सम्बन्धित सरोकारवालासँग समन्वय गरी प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी आधारभूत काम तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बढीमा तीन महिनाका लागि गठन गरिएको समितिले नास्टीको संस्थागत पुनर्संरचना र नियमित कामकारबाहीलाई व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाउनेछ।