काठमाडौं ।उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाको संस्थागत विकास र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सम्मेलन सुरु भएको छ।
कात्तिक १३ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन सङ्घीय सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गरेका हुन्।सम्मेलनमा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीका प्रतिनिधि, प्रदेश विश्वविद्यालयका उपकुलपति, कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञ सहभागी छन्।बागमती विश्वविद्यालयका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था र सुधारका सम्भावित उपायबारे प्रस्तुति दिएका थिए।
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, अपनाइएका असल अभ्यास र विद्यमान चुनौतीबारे अनुभव साटासाट गर्ने कार्यक्रम छ। साथै, प्रदेशहरूबीच सहकार्य गर्न सकिने क्षेत्र पहिचान गर्ने विषयमा छलफल हुने जनाइएको छ।संघीयता कार्यान्वयनपछि शिक्षा क्षेत्रमा देखिएका अवसर र समस्या, संघ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण र उच्च शिक्षाको गुणस्तर सुधार सम्मेलनका प्रमुख छलफलका विषय रहेका छन्।प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति तयार गर्ने लक्ष्य पनि सम्मेलनले लिएको छ।
सम्मेलनबाट प्रदेशस्तरको शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने, विश्वविद्यालयहरूको विकासमा सहकार्यका सम्भावना खोज्ने र आगामी दिनमा लागू गर्न सकिने नीतिगत तथा व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।