काठमाडौं ।निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणबारे अध्ययन गरिरहेको संसदीय उपसमितिकी संयोजक खुश्बु ओलीले छानबिन प्रतिवेदन तयार हुनुअघि नै प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय नहुने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतकसमेत रहेकी ओलीले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन प्रक्रिया पूरा नहुँदै सरकारले हस्तक्षेप नगर्ने अपेक्षा व्यक्त गरेकी हुन्। उनका अनुसार उपसमितिले प्रतिवेदन बुझाउनुअघि नै कुनै निष्कर्ष निकाल्नु उचित हुँदैन।उनले सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार र उपसमितिको बैठकबीच सम्बन्ध नरहेको पनि बताइन्। सरकारले आफैँ गठन गरेको अध्ययन संयन्त्रको काम पूरा हुनुअघि हस्तक्षेप गरेर निर्णय लिनेमा आफू विश्वस्त नरहेको उनको भनाइ थियो।
अध्ययन पूरा नहुँदै कसैलाई दोषी ठहर गर्ने वा निर्दोष घोषणा गर्ने निष्कर्षमा पुग्न नहुनेमा जोड दिँदै ओलीले उपसमितिले निष्पक्ष रूपमा तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार पार्ने बताइन्।निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन अझै प्रारम्भिक चरणमा रहेको उनले जानकारी दिइन्। दसैँका कारण अध्ययनको कामले अपेक्षित गति लिन नसके पनि उपसमितिका सदस्यहरूले व्यक्तिगत रूपमा अनुसन्धान जारी राखेको उनको भनाइ छ।उपसमितिले संकलन गर्ने तथ्य तथा प्रमाणका आधारमा प्रतिवेदन तयार गरी आवश्यक निष्कर्ष प्रस्तुत गर्ने जनाएको छ।