काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा रहेका स्याउ बगैँचाबाट यस वर्ष सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको हो। कार्यालयले जिल्लामा कुल ६६२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउबाट उक्त उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरेको जनाएको छ। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउ र परम्परागत स्थानीय जातका स्याउ दुवैको उत्पादन भएको छ। उत्पादित स्याउमध्ये हाइब्रिड स्याउको मूल्य २३ करोड ६ लाख रुपैयाँ र स्थानीय जातको स्याउको मूल्य ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबर रहेको छ।
यस वर्ष जिल्लामा ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड स्याउ र छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्थानीय जातको स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ। डा. अर्यालका अनुसार स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरूले क्रप कटिङ विधिमार्फत औसत उत्पादन मापन गरेका थिए। उत्पादनको परिमाण यकिन गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक र किसानसँग समेत समन्वय गरिएको थियो।
उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने अनुमान गरिएको छ। त्यस्तै, १७ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्लाभित्रै खपत हुने जनाइएको छ। मुस्ताङमा हाइब्रिड स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ र परम्परागत स्थानीय स्याउको मूल्य प्रतिकेजी १५१ रुपैयाँ निर्धारण गरिएको छ। गत वर्ष मुस्ताङमा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५.२९ प्रतिशत बढी उत्पादन भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिएका छन्। जिल्लामा हाल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। त्यसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा परम्परागत स्थानीय जातका स्याउ लगाइएको छ।