काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित प्रणाली विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार ‘विपद् उत्थानशीलताको सुरुआत घरबाटै’ अभियान शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विपद्सम्बन्धी नीति तथा योजना प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिएका हुन्। उनका अनुसार विपद्का बेला कुनै व्यक्तिको सक्रियतामा मात्र निर्भर नभई आवश्यक संयन्त्र आफैँ परिचालित हुने व्यवस्था बनाउन जरुरी छ।उनले विपद्का जोखिम पहिचान तथा पूर्वानुमानका लागि आधुनिक प्रविधि र कृत्रिम बौद्धिकता एआई को उपयोग बढाउनुपर्ने बताए। विपद्का स्वरूप परिवर्तन भइरहेकाले नियमित निगरानी र पूर्वतयारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
नेपाल भूकम्प, मनसुनी बाढी, पहिरो तथा हिमताल विस्फोटजस्ता विभिन्न प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै श्रेष्ठले जोखिमअनुसार उद्धार सामग्री, राहत व्यवस्था र पूर्वतयारीका योजना तयार गर्नुपर्ने बताए। विशेषगरी नदीको माथिल्लो क्षेत्रमा पानी थुनिने वा बहावमा परिवर्तन आउने अवस्थालाई ध्यानमा राखेर तल्लो तटीय क्षेत्रमा निगरानी र पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्नेमा उनले जोड दिए।मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित नराखी जोखिम न्यूनीकरण, पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्था र प्रभावित व्यक्तिको मानसिक स्वास्थ्यसम्म विस्तार गर्नुपर्ने बताए। विपद्पछि बालबालिका तथा अन्य प्रभावितमा देखिन सक्ने डर, त्रास र मानसिक तनावलाई सम्बोधन गर्ने व्यवस्था पनि आवश्यक रहेको उनले उल्लेख गरे।
भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक अध्ययनसँगै स्थानीय परम्परागत ज्ञानलाई समेत समेट्नुपर्नेमा जोड दिँदै उनले विपद् प्रतिरोधी संरचना र प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताए।