काठमाडौं । मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा यातायात अवरुद्ध हुँदा सयौँ बसमा सवार हजारौँ यात्रु ३६ घण्टादेखि बाटोमै अलपत्र परेका छन्। दसैँलगायतका चाडपर्व मनाउन काठमाडौँबाट घर फर्किएका यात्रु सडक जाममा फसेका हुन्।
सिन्धुली सडकखण्डमा शुक्रबार एलपीजी ग्यास बोकेको बुलेट पल्टिनु र सडक धस्सिनुका कारण यातायात प्रभावित भएको हो। मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको पालुङ सडकमा सवारीसाधनको चाप बढ्दा आवागमन थप अस्तव्यस्त बनेको बताइएको छ। यात्रुहरू थाहा नगरपालिका–४, सिमभञ्ज्याङदेखि हेटौँडातर्फ जाने जङ्गलको बीचमा रोकिएका छन्। स्थानीय निकाय र मकवानपुर जिल्ला प्रशासन कार्यालयबीच प्रभावकारी समन्वय हुन नसक्दा यात्रुले खाना, पानी र शौचालयजस्ता आधारभूत सुविधासमेत पाउन नसकेको गुनासो गरेका छन्।
लामो समयदेखि जाममा फसेका बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धा स्वास्थ्य समस्यामा पर्न थालेको यात्रुहरूको भनाइ छ। जङ्गल क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा यात्रुहरूलाई आफन्तसँग सम्पर्क गर्न र आवश्यक सहयोग जुटाउन कठिनाइ भएको छ। यात्रु प्रकाश उप्रेतीका अनुसार सडक खुलाउन सम्बन्धित प्रशासनिक निकाय र प्रहरी अधिकारीहरूको ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो छ।
वैकल्पिक सडक साँघुरो र घुमाउरो भएकाले दुवैतर्फका सवारीसाधन सहज रूपमा आवतजावत गर्न सकेका छैनन्। यात्रुवाहक बस र मालवाहक सवारीसाधन एकै सडकमा जाममा पर्दा समस्या थप जटिल बनेको छ। शनिबार बिहान करिब ६ बजेदेखि नौ घण्टासम्म यातायात प्रभावित भएको र अपराह्न ३ बजेपछि केही सवारीसाधन अघि बढेको बताइएको छ। तर, सडकमा सवारीसाधनको चाप कायमै रहेकाले यात्रुहरू अझै गन्तव्यमा पुग्न सकेका छैनन्।
उप्रेतीका अनुसार सिमभञ्ज्याङदेखि तलको सडकखण्डमा करिब १२० वटा यात्रुवाहक बस रोकिएका छन्। अर्कोतर्फ, १८ देखि २२ चक्केसम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ जाने क्रममा पनि जाम बढेको छ। सडकलाई समयअनुसार खोल्ने र बन्द गर्ने गरिएको तथा अझै करिब ३४ किलोमिटर कच्ची सडक पार गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्। लामो समयदेखि अलपत्र यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन तथा खाना, पानी र शौचालयको व्यवस्था गर्न सम्बन्धित निकायले तत्काल समन्वय गर्नुपर्ने देखिएको छ।