काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ भने विभिन्न स्थानका घर तथा टहरामा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेको न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने अर्को झोलुङ्गे पुल पनि बाढीका कारण नष्ट भएको छ। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ लाई जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ। पुलहरू बगाउँदा स्थानीय आवागमन तथा यातायातमा समस्या उत्पन्न हुने देखिएको छ।
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदीको बहाव अवरुद्ध भएको थियो। नदीमा थुप्रिएको पानी एक्कासि बग्दा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको बताइएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरभित्र बाढी पसेको प्रहरीले जनाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाको तल्लो बस्तीमा पनि बाढी पसेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रमा पाँचदेखि सातवटासम्म घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बूढीगण्डकीमा आएको आकस्मिक बाढीका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरिएको छ। बाढीबाट भएको कुल क्षति तथा अन्य सम्भावित असरबारे थप विवरण आउन बाँकी छ।