काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन अर्थात् घटस्थापनाका अवसरमा आज देशभरका घर–घरमा वैदिक विधिअनुसार पूजा आराधना गरी जमरा राखिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयका समयमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको हो। उनका अनुसार आज दिनभर चित्रा नक्षत्र रहने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तलाई घटस्थापनाको साइतका रूपमा निर्धारण गरिएको हो। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भन्ने चर्चा शास्त्रीय मान्यताअनुसार नरहेको पनि उनले बताएका छन्।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लासका साथ मनाउने परम्परा छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरलाई शुद्ध पारेर बालुवा वा माटोमा जौ छरी जमरा राख्ने गरिन्छ। साथै दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार जौको जमरा देवी दुर्गालाई प्रिय मानिन्छ। घटस्थापनाका दिन राखिएको जमरा दशैंको टीकाका दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। जमरा समृद्धि, शुभता र मंगलको प्रतीकका रूपमा समेत लिने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जौको जमरा राख्ने परम्परा छ। कतिपयले गहुँ र मकै पनि रोप्ने गरे तापनि परम्परागत विधिअनुसार जौलाई विशेष महत्त्व दिइन्छ।
नवरात्रभर नौ देवीको आराधना
घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा देवी दुर्गाका नौ स्वरूपको विधिपूर्वक पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने धार्मिक परम्परा छ।
दशैंको सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीमा विशेष पूजा गर्ने तथा विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन छ। नवरात्रका अवसरमा देशभरका विभिन्न शक्तिपीठ तथा भगवती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। दशैंलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा पनि लिइन्छ। पारिवारिक भेटघाट, आपसी सद्भाव र आशीर्वाद आदानप्रदानका कारण यस पर्वको सामाजिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ। यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ।