काठमाडौं ।मनाङ र मुस्ताङ जोड्ने प्रसिद्ध थोरङला पास पदमार्गमा जमेको हिउँ हटाइएपछि पदयात्राका लागि बाटो खुलेको छ।
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा सोमबार २० जनाको टोलीले पदमार्गमा जमेको बाक्लो हिउँ पन्छाएको हो।अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो पदमार्ग हुँदै लमजुङको बेँसीसहरबाट मनाङ हुँदै विदेशी पर्यटकहरू थोरङला पास पार गरेर मुस्ताङको मुक्तिनाथ पुग्ने गर्छन्। हिउँका कारण अवरुद्ध बाटो सफा गरिएपछि पर्यटकलाई पदयात्रामा सहज हुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार मनाङ–मुस्ताङ जोड्ने थोरङला पास क्षेत्रमा जमेको बाक्लो हिउँ हटाएर पदयात्राका लागि बाटो सहज बनाइएको हो।असोज ८ देखि ११ गतेसम्म भएको भारी हिमपातपछि थोरङला पासको पदमार्ग पूर्णरूपमा बन्द भएको थियो। त्यसपछि पर्यटकको आवागमनसमेत प्रभावित भएको थियो।
अक्टोबरदेखि नोभेम्बरसम्म थोरङला पास साहसिक पदयात्राका लागि उपयुक्त मानिन्छ। मनाङ–मुस्ताङ समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षको करिब पाँच महिना मात्रै नियमित पर्यटकीय गतिविधि हुने गर्छ।विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको थोरङला पासमा विदेशी पर्यटकहरू विशेषगरी साहसिक पदयात्राका लागि पुग्ने गर्छन्। अहिले हिउँ हटाइएकाले मनाङबाट थोरङला पास हुँदै मुस्ताङतर्फ जाने पदयात्रामा समस्या नरहेको होटल व्यवसायीहरूले बताएका छन्।