काठमाडौँ । बाढी तथा पहिरोका कारण प्रभावित भएका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यातायात एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल प्रहरीले पहिरो हटाएपछि दुवै राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सुरु भएको जनाएको छ। यता, गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण सडक यातायात अझै प्रभावित छ। मनाङको चामे–बेंसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पूर्ण रूपमा बन्द रहेका छन्। त्यसैगरी मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग तथा तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा पनि पहिरोका कारण यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर, कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला तथा मुगुको नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छन्।अवरुद्ध सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन प्रहरी र स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको जनाइएको छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।