काठमाडौं ।तिहार, दीपावली, छठ र विभिन्न धार्मिक संस्कारमा प्रयोग हुने मखना नेपालमै पनि उत्पादन हुन थालेको छ।
लामो समयदेखि महोत्तरीमा हुँदै आएको मखना खेती अहिले झापा र धनुषासम्म विस्तार भएको छ।झापाको कचनकवलमा किसानहरू काँडेदार पात र हिलोबीचबाट मखनाका दाना संकलन गर्न व्यस्त छन्। नयाँ किसिमको खेती भएकाले मखना टिप्ने काम निकै मेहनतिलो छ। यसका लागि भारतबाट दक्ष कामदार ल्याउनुपर्ने अवस्था रहेको किसानहरू बताउँछन्।उत्पादन बढ्दै गए पनि किसानको मुख्य चिन्ता भने प्रशोधन र बजार बनेको छ। नेपालमै मखना प्रशोधन गर्ने पर्याप्त उद्योग छैनन् भने उत्पादित मखना भारतमा लैजान पनि सहज व्यवस्था नभएको किसानहरूको गुनासो छ।कचनकवलमा यस वर्ष करिब १५ सयदेखि २ हजार क्विन्टल मखना उत्पादन हुने अनुमान गरिएको छ। बजार राम्रो पाए किसानले करोडौँ रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावना छ।
यता धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका केही किसानले वैदेशिक रोजगारीबाट फर्किएपछि सामूहिक रूपमा मखना खेती सुरु गरेका छन्। स्थानीय सरकारले पोखरी र अनुदानमार्फत उनीहरूलाई सहयोग गरेको छ।मखना स्वादका लागि मात्रै नभई क्याल्सियम, म्याग्नेसियम, पोटासियम र फस्फोरसजस्ता पोषक तत्वको स्रोत पनि मानिन्छ। मिथिला क्षेत्रमा यसको धार्मिक तथा सांस्कृतिक महत्वसमेत ठूलो छ।चाडपर्व, पूजा, विवाह तथा व्रतबन्धमा यसको प्रयोग हुने भएकाले माग बढ्दो छ। तर उत्पादनदेखि प्रशोधन र बजारसम्म उचित व्यवस्था हुन सके नेपालमा मखना खेती किसानका लागि राम्रो आम्दानीको नयाँ स्रोत बन्न सक्ने देखिन्छ।