काठमाडौं । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।
सोमबार मध्यरातपछि बजार क्षेत्रमा सुरु भएको आगो केही समयमै आसपासका पसल तथा घरमा फैलिएको थियो। तीव्र रूपमा फैलिएको आगलागीका कारण कम्तीमा ४० वटा घर तथा पसल जलेर नष्ट भएका छन्।आगो नियन्त्रणका लागि दमकल र पानीको फोहोरा प्रयोग गरिए पनि आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको स्थानीय प्रहरीले जनाएको छ। घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको प्रहरी प्रवक्ता हेनरी जे। मानुरुङले बताएका छन्।प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच जना वयस्क र ६ जना बालबालिका छन्। मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको जनाइएको छ।आगलागीको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।बजार क्षेत्रमा घर तथा पसलहरू एकअर्कासँग निकै नजिक र बाक्लो रूपमा निर्माण गरिएकाले आगो तीव्र गतिमा फैलिएको र नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ।इन्डोनेसियामा पछिल्लो समय ठूला आगलागीका घटना दोहोरिँदै आएका छन्। यसअघि जकार्तामा भएको कार्यालय भवनको आगलागीमा पनि ठूलो मानवीय क्षति भएको थियो।