काठमाडौं।युक्रेनको राजधानी किएभमा रुसी हवाई आक्रमणको प्रभाव पछिल्लो समय झन् बढेको छ।
यसअघि प्रायः रातको समयमा हुने ड्रोन तथा क्षेप्यास्त्र आक्रमण अहिले दिनको समयमा समेत हुन थालेपछि सर्वसाधारणको दैनिक जीवन निरन्तर जोखिम र अनिश्चितताबीच बितिरहेको छ।रुसले तीव्र गतिमा उड्न सक्ने जेट–सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको स्वरूपमा परिवर्तन आएको बताइएको छ। हवाई आक्रमणको चेतावनी दिने साइरन, विस्फोटका आवाज र प्रतिरक्षात्मक कारबाहीको आवाज किएभका बासिन्दाका लागि नियमित घटनाजस्तै बनेका छन्।साइरन बज्नासाथ कार्यालय, बैंक, पसल, विद्यालय तथा अन्य व्यवसायिक गतिविधि रोक्नुपर्ने अवस्था छ। सर्वसाधारणले सुरक्षित स्थान वा आश्रयस्थलमा पुग्नुपर्ने भएकाले सामान्य कामकाज र आवतजावतमा समेत ठूलो असर परेको छ।हवाई आक्रमणका कारण सार्वजनिक यातायात पनि प्रभावित भएको छ। रेल सेवा बीच बाटोमै रोकिने तथा यात्रुहरूलाई केही दूरी पैदल यात्रा गर्नुपर्ने अवस्था आउने गरेको बताइएको छ। ड्रोनका कारण जीपीएस प्रणालीमा अवरोध उत्पन्न हुँदा ट्याक्सी तथा अन्य यातायात सेवा सञ्चालनमा समेत समस्या देखिएको छ।किएभका बासिन्दा भोलोदिमर बोभ्सुनोभ्स्कीले आफ्नी सानी छोरीका लागि सामान किन्न मल पुगेको केही समयमै हवाई आक्रमणको चेतावनी बजेको अनुभव सुनाएका छन्। बाहिर धुवाँ देखिएपछि उनी किनमेल नगरी फर्किनुपरेको थियो। पछिल्लो एक सातामा परिस्थितिमा ठूलो परिवर्तन आएको भन्दै उनले परिवारलाई केही समय सुरक्षित ठाउँमा लैजाने विषयमा समेत सोचिरहेको बताएका छन्।
युद्धको प्रभाव मानिसहरूको व्यक्तिगत तथा पारिवारिक जीवनमा समेत परेको छ। इरिना बारानोभा र इभहेन मित्सिकले हवाई आक्रमणकै बीच विवाह गरेका थिए। यस्तो परिस्थितिले जीवन र परिवारको मूल्य अझ गहिरो रूपमा महसुस गराएको उनीहरूको भनाइ छ।लगातारको तनावबीच केही स्थानीयले मानसिक रूपमा आफूलाई सम्हाल्ने उपाय खोजिरहेका छन्। टेट्याना सेभचेन्कोले ध्यान अभ्यासले साइरन र विस्फोटको बीचमा आफूलाई शान्त राख्न मद्दत गरेको बताएकी छन्। तर आक्रमणका कारण सरकारी सेवामा समेत अवरोध हुने गरेको उनको अनुभव छ।आवासीय क्षेत्रमा ड्रोनबाट क्षति पुगेपछि केही बासिन्दाले किएभ छाड्नेबारे सोच्न थालेका छन्। आईटी क्षेत्रमा कार्यरत इभान दात्सिभको घरमा ड्रोन ठोक्किएर क्षति भएपछि उनले तुलनात्मक रूपमा सुरक्षित र शान्त स्थानमा बसाइँ सर्ने सम्भावनाबारे विचार गरिरहेका छन्।बालबालिकाको दैनिक जीवन पनि युद्धबाट अछुतो छैन। बोभ्सुनोभ्स्कीकी छोरी जाने बालविकास केन्द्रमा हवाई चेतावनी जारी हुँदा बालबालिकालाई पटक–पटक सुरक्षित आश्रयस्थलमा लैजानुपर्ने अवस्था रहेको बताइएको छ।सीमितजस्तो देखिएको हवाई आक्रमण दिनको समयमा समेत विस्तार भएपछि किएभका नागरिकले सुरक्षा चुनौतीसँगै आफ्नो रोजगारी, शिक्षा, यातायात र पारिवारिक दैनिकीलाई निरन्तरता दिन कठिन संघर्ष गरिरहेका छन्।