काठमाडौं । बाढीका कारण क्षतिग्रस्त तथा सडक सम्पर्क टुटेका क्षेत्रमा आवागमन सहज बनाउन चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई दुई वटा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ।
ती दुवै पुल १ सय–१सय मिटर लम्बाइका हुनेछन्।बाढी प्रभावित क्षेत्रमा तत्काल पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएपछि ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँग ३० वटा बेलिब्रिज उपलब्ध गराउन अनुरोध गरेको थियो।नेपालको अनुरोधअनुसार सिजाङ सरकारले पहिलो चरणमा दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको हो। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरणसम्बन्धी औपचारिक प्रक्रिया पूरा गरिएको छ।कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा दुवै पक्षका अधिकारीहरूको सहभागिता थियो।चीनबाट पठाइएका बेलिब्रिजका सामग्री माथिल्लो मुस्ताङको कोरला लिजी सीमा नाकासम्म ल्याइएको छ। नेपाल पक्षले ती सामग्री बुझेर आवश्यक स्थानमा पुल निर्माणको प्रक्रिया अघि बढाउनेछ।पुल जडान तथा निर्माण कार्यमा प्राविधिक सहयोग पु¥याउन चीनले प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ। उक्त प्राविधिक टोली आगामी दिनमा नेपाल आउने बताइएको छ।सहयोगअन्तर्गत बेलि प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेलि पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिल तथा पाइप वेल्डिङलगायत सामग्री रहेका छन्।बाढीपछि क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा यातायात र आवागमनमा समस्या भइरहेका बेला बेलिब्रिज निर्माण भएपछि स्थानीय आवागमनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ