काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मुलुकमा आइपर्ने विपद् र चुनौतीहरूले मानिसको धैर्य र कर्मको कडा परीक्षा लिने बताएका छन्। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा पनि विचलित नभई पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै वास्तविक धर्म र कर्मयोग भएको उल्लेख गरेका छन्।
हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्को सामना गरिरहेको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री शाहले श्रीकृष्णले श्रीमद्भगवद्गीतामार्फत दिएको निष्काम कर्मको सन्देश आजको समयमा झनै सान्दर्भिक बनेको बताए। उनले चुनौतीको यस घडीमा सबै नागरिक, सुरक्षाकर्मी, र उद्धारकर्मीहरूलाई एकजुट भएर कर्तव्यपथमा लागिरहन आह्वान गरेका छन्।
शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भनेका छन्, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा कर्तव्यपथमा टिकिरहने धैर्य, साहस र शक्ति प्रदान गरोस् भन्ने कामना गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।